चितवनलाई हराउँदै जनकपुरलाई अन्तर क्लब क्रिकेटको उपाधि

हिमाली आवाज ।  पोखरामा गत फागुन १७ गतेदेखी सञ्चालन भएको ‘अन्तर क्लब टी–२० क्रिकेट लिग’को उपाधि जनकपुर क्रिकेट क्लबले जितेको छ ।

‘खेल पर्यटन आजको आधार, क्रिकेट विकास हाम्रो सरोकार’को नारा सहित केएन स्पोर्टस् प्रालिको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा चितवन क्रिकेट क्लबलाई पाँच विकेटले हराउँदै जनकपुरले उपाधि जितेको हो ।

जीतका लागि चितवनले दिएको ७३ रनको सामान्य लक्ष्य जनकपुरले १५ ओभरको पाँचौ बलमा पाँच विकेटको क्षतिमा भेट्टाएर उपाधि सहित ट्रफी तथा नगद रु ५० हजार पुरस्कार प्राप्त गर्न सफल भयो ।

टस जितेर शुरुआतमा व्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरको खेलमा जम्मा ७२ रनमात्र जोड्न सफल भयो । चितवनका रोविन शर्माले १५ तथा सङ्घर्ष पौडेलले १२ रनको पारी खेल्नुभएपनि अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन ।

जनकपुरका बलरहरु रुपेश यादव, शोभाकान्त पौडेल र विशाल सुस्लिङले समान दुई÷दुई विकेट लिनुभएको थियो ।

टोलीलाई जीत दिलाउने क्रममा जनकपुरका अक्वर अलिले अविजित रहँदै महत्वपूर्ण ३२ रनको योगदान दिनुभयो । यसैगरी शोभाकान्त पाण्डेले १५ रन बनाउनुभएको थियो । चितवनका सङ्घर्ष पौडेलले सर्वाधिक तीन विकेट लिनुभयो ।

प्रतियोगितामा जनकपुरका राहुल प्रताप सिंह सर्वोत्कृष्ट खेलाडी, जनकपुरकै शोभाकान्त शोभाकान्त पाण्डे उत्कृष्ट बलर तथा चितवनका साकार ढकाल उत्कृष्ट ब्याट्सम्यान घोषित हुनुभई मेडल पुरस्कार प्राप्त गर्नुभयो ।

विजेता टोली र विभिन्न विधाका उत्कृष्ट हुन सफल खेलाडीहरुलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश कुमार गुरुङ, प्रतियोगिताको मुख्य प्रायोजक सुपर जनरल कम्पनीका गण्डकी प्रदेश प्रमुख फैजल अली, नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य ऋषि गौतम, पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

कोरोना कहरका कारण लामो समय खेलकूद गतिविधि ठप्प भएको अवस्थामा खेल गतिविधिलाई पूर्ववत अवस्थामा फर्काउने प्रयास देशका विभिन्न जिल्लाका क्रिकेट क्लबकाबीच प्रतियोगिता आयोजना गरिएको र क्रिकेट खेल विकासमा योगदान पुगेको प्रतियोगिता संयोजक कमल थापाले बताउनुभयो ।

सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरी लिगका आधारमा खेलाइएको प्रतियोगिताको समूहको शीर्ष दुईमा रहने चार टोलीका बीच सेमिफाइनलमा प्रतिस्पर्धा भएको थियो ।

Comments
Loading...