माछापुच्छ्रेको सार्दिखोला स्वास्थ्य चौकीको सेवा बन्द

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिका–२ को सार्दिखोला स्वास्थ्य चौकीको सेवा आजदेखी बन्द भएको छ ।

स्वास्थ्य चौकीमा कार्यरत एक जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य चौकीबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु बुधबारदेखी अनिश्चितकालका लागि बन्द गरिएको हेल्थपोष्टका अहेब शिवबहादुर केसीले बताउनुभयो ।

उहाँका अनुसार स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि फैलावट रोक्न अन्य कर्मचारीहरु कन्ट्याक्ट ट्रेसिङका लागि क्वारेन्टिनमा  बस्नु परेकाले अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको हो ।

सार्दिखोला स्वास्थ्य चौकीबाट आधारभूत स्वास्थ्य उपचार सेवा प्रदान गरिदै आइएको थियो । यसअघि बन्दाबन्दी लगायतका समयमा पनि स्वास्थ्य चौकीको सेवा स्थगन नगरिएपछि अहिले कर्मचारी सङ्क्रमित भएपछि बन्द भएको केसीले बताउनुभयो ।

स्वास्थ्य चौकी बन्द भएपछि स्थानीयवासी उपचारका लागि पोखरासम्म आउनुपर्ने बाध्यता बनेको छ ।

गाउँपालिकाको सेवा वैशाख मसान्तसम्म बन्द

यसैगरी माछापुच्छ«े गाउँपालिकाको सेवा वैशाख मसान्तसम्मका लागि बन्द गरिएको छ ।

नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको सङ्क्रमण बढेको भन्दै गाउँपालिकाले मंगलबार एक सूचना जारी वैशाख २२ गतेदेखी ३१ गतेसम्म सेवा बन्द गरिएको जनाएको छ ।

गाउँपालिकामा सङ्क्रमण तीव्र गतिमा फैलिइरहेकाले गाउँपालिका कोभिड–१९ व्यवस्थापन समितिको निर्णय अनुसार गाउँपालिका तथा नौ वटै वडा कार्यालयहरुबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिनुभयो ।

Comments
Loading...