कोरोना महामारीसँग जुध्न कास्कीका स्थानीय तहलाई जिल्ला समन्वयको साथ

हिमाली आवाज । जिल्ला समन्वय समिति कास्कीले पोखरा महानगरपालिका र चार गाउँपालिकाका पालिकास्तरीय अस्पलतालमा स्वास्थ्य संरचना, अक्सिजन बेड लगायत स्वास्थ्य सामग्री व्यवस्थापनका लागि बजेट विनियोजन गरेको छ ।

समन्वय समितिको आज बसेको जुम बैठकले समितिको मौज्दात कोषबाट पालिकाहरुमा अत्यावश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापनका लागि पोखरा महानगरपालिकालाई रु ६० लाख र माछापुच्छ«े, अन्नपूर्ण,मादी र रुपा गाउँपालिकालाई रु १० लाखका दरले रु ४० लाख बजेट विनियोजन गर्ने निर्णय गरेको हो । पालिकाको सिफारिसमा सम्बन्धीत स्वास्थ्य संस्थालाई बजेट उपलव्ध गराइने बताइन्छ ।

कास्की जिल्लामा कोभिड–१९ को प्रभाव बढि देखिएको र विद्यमान स्वास्थ्य संरचना, जनशक्तिको सेवा अझै कम भएको देखिएकाले गाउँपालिका र महानगरपालिका क्षेत्रका सरकारी अस्पतालमा स्वास्थ्य सामग्री व्यवस्थापनमा सहयोग पुगोस् भनेर सो रकम प्रदान गर्ने निर्णय गरिएको समन्वय प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिनुभयो ।

समन्वय प्रमुख अधिकारीले भन्नुभयो,“अहिलेको महामारीसँग जुध्न स्थानीय तहहरुलाई हाम्रो तर्फबाट थोरै भएपनि योगदान पुगोस् भनेर स्वास्थ्य उपकरण र सामग्री व्यवस्थापनका लागि रकम दिने निर्णय गरेका हौँ । समितिको मौज्दात कोष सञ्चालन निर्देशिकाको अधिनमा रही पालिकाको सिफारिसमा रकम दिन्छौँ ।”

यसैगरी पोखरा महानगरपालिका–१६ मा रहेको मातृशिशु अस्पतालमा २० श्ययाको आइशोलेशनका लागि रु १५ लाख तत्काल महानगरको खातामा पठाउने निर्णय गरिएको प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

बैठकले कोभिड–१९को दुःखद् महामारीको बीचमा पनि विभिन्न खाद्य सामग्री एवं स्वास्थ्य सामग्रीमा अमानवीय तवरबाट कृत्रिम अभाव देखाउँदै अस्वभाविक मुल्यवृद्धि भएको जनगुनासो आएकाले विपद्को समयमा मानवियतालाई ख्याल गर्न र स्थलगत अनुगमन गरी नियमनको प्रक्रियामा ल्याई सहज आपूर्तिको व्यवस्था मिलाउन सम्पूर्ण सरकारी निकायहरुको ध्यानाकर्षण गरिएको छ ।

हालको महामारीको रोकथाम र नियन्त्रणका लागि जिल्ला समन्वय समितिका सम्पूर्ण पदाधिकारी सदस्यहरु सहजीकरणमा अझै प्रभावकारी ढंगले लाग्ने निर्णय गरिएको समन्वय अधिकारी नवराज बरालले जानकारी दिनुभयो ।

यसैगरी समन्वय समितिले सरकारले जारी गरेको निषेधाज्ञाको पूर्ण पालन गरी स्वास्थ्यका मापदण्डहरुलाई आत्मसात् गरी घरमानै रहन जिल्लावासीमा अपिल गरेको छ ।कोरोना महामारी नियन्त्रणका लागि खोपनै एक मात्र उपाय रहेकाले खोपको सहज आपूर्ति गरी सम्पूर्ण जनतामा पुग्ने व्यवस्थाका लागि संघ र प्रदेश सरकारसँग माग गरिएको छ ।

बैठकले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्वास्थ्य उपकरण र पूर्वाधार निर्माणका लागि संघीय सरकारबाट रु १६ करोड बजेट उपलव्ध गराउने निर्णय गरेकामा आभार व्यक्त गरेको छ ।

Comments
Loading...