नौ करोडमा निर्माण गरिएको फेवातालको ‘सिल्टेसन ड्याम’ एकवर्षभित्रै बाढीले बगायो

हिमाली आवाज । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले फेवाताल संरक्षणका लागि गत वर्ष निर्माण गरेको ‘सिल्टेसन ड्याम’ बाढीले बगाएको छ । यसैगरी बाढीपछि नदीले धार परिर्वतन गर्दा छ घर परिवार विस्थापित भएका छन् ।

पोखरा महानगरपालिका–२३ स्थित फेवातालमा मिसिने हर्पन खोलामा निर्माण गरिएको ड्याम गएरातिको बाढीले बगाएको र केही घर परिवार विस्थापित भएको सोही वडाका वडाध्यक्ष विष्णु पराजुलीले जानकारी दिनुभयो ।

फेवातालमा मिसिने नदीहरुले वर्खायाममा बगाएर ल्याउने ढुँगा,बालुवा लगायतका गेग्रानका कारण ताल पुरिदै गएपछि नदीजन्य पदार्थ तालमा मिसिनबाट रोक्ने उद्धेश्यले प्रदेश सरकार र महानगरको संयुक्त लगानीमा ड्याम र पोखरी निर्माण गरिएका थिए ।

फेवा जलाधार क्षेत्रका मुख्य चार नदीमा रु २८ करोड लागतमा सिल्टेसन ड्याम र पोखरी निर्माण गरिएको थियो । हर्पनमा निर्माण गरिएको ड्यामको लागत अनुमानित रु नौ करोड रहेको वडाध्यक्ष पराजुलीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“हर्पन खोलाको बाढीले मानविय क्षति नभएपनि फेवाताल संरक्षणका लागि बनाइएको सिल्टेसन ड्याममा क्षति पु¥याएको छ । खोलाले बहाव परिर्वतन गर्दा छ घर परिवार विस्थापित भएका छन्,१५० रोपनी जति खेतीयोग्य जमिन पुरिएको छ ।”

हर्पनखोलामा निर्माण गरिएको ९० मिटर लामो ड्याम मध्य अन्दाजी १० मिटर जति ड्याम बगाएको र अहिलेपनि निरन्तर बगाउने क्रम जारी रहेको छ ।
ठुलाखेतका बाढीबाट विस्थापित परिवार आफन्तकोमा गएर बसेका छन् । ड्याम भत्किएर नदीले पूर्ववत धार परिर्वतन गरेसँगै घरहरु जोखिममा परेपछि स्थानीयवासी घर छाडेर हिँडेका थिए ।

फेवातालको जलाधार क्षेत्रबाट वर्षेनी एक लाख ४२ हजार मेट्रिक टन ढुँगा,माटो,बालुवा लगायतका गेग्रान तालमा मिसिने गरेको बताइन्छ । फेवामा आउने गेग्रान रोकेर ताल संरक्षण गर्न भन्दै मुख्य नदीहरुमा सिल्टेसन ड्याम र पोखरी निर्माण गरिएको हो ।

Comments
Loading...