पुम्दीकोट विशाल महादेवको दर्शनमा वडा कार्यालयले लगायो रोक

हिमाली आवाज । पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीमा अवस्थित धार्मिक पर्यटनको गन्तव्य विशाल महादेव मूर्तिको दर्शनमा रोक लगाइएको छ ।

केही दिनयता महादेव मूर्ति दर्शनमा दर्शनार्थीहरुको भीडभाड बढेपछि सम्भावित कोरोना सङ्क्रमण जोखिम न्यूनीकरणका लागि आजदेखी अर्को सूचना नभएसम्मका लागि मन्दिर अवलोकनमा सर्वसाधारणलाई रोक लगाइएको हो ।

वडा कार्यालयले सूचना जारी गरी महादेव मूर्तिको दर्शनका लागि पछिल्लो समय दर्शनार्थीहरुको उपस्थिति अत्यधिक बढेको र सबैलाई सुरक्षित हुनका लागि महादेव मूर्ति परिसर दर्शन र अवलोकनका बन्द गरिएको जनाएको छ ।

वडाध्यक्ष मित्रलाल बरालले जिल्ला प्रशासन, पुम्दीकोट विकास समिति लगायत सबै सरोकारभएकाहरुसँगको छलफलपछि बन्द गर्ने निर्णय गरिएको बताउनुभयो ।उहाँले भन्नुभयो,“केही दिनयता महादेवको दर्शनमा थेग्नै नसक्ने गरी भीड बढ्यो, गाउँमा पनि कोरोना सङ्क्रमण बढेकाले र सबैको सुझावले केही समय बन्द गर्ने निर्णयमा पुग्यौँ । अवस्था केही सहज भएपछि सुचारु गर्नेछौँ ।”

हाल दर्शनका लागि दैनिक एक हजार ५०० हाराहारीमा दर्शनार्थी र पर्यटक पुग्ने गरेकामा सार्वजनिक विदाको दिनमा सो सङ्ख्या तीन गुणाभन्दा बढी हुने बताइन्छ ।

अघिल्लो शनिबार एकै दिन पाँच हजारले दर्शन र अवलोकन गरेको वडाध्यक्ष बरालले जानकारी दिनुभयो ।
साउन महिना शुरु भएपछि दैनिक जसो मन्दिरमा भीडभाड बढेको छ । केही महिना अघिमात्र पुम्दीकोट विकास समितिले पुम्दीकोटमा ५१ फिट अग्लो महादेवको मूर्ति राखेको थियो ।

समितिले पुम्दीकोटमा महादेव मूर्ति सहितका अन्य संरचना निर्माणका लागि गुरुयोजना बनाएर काम गरिरहेको छ । हालसम्म सो गुरुयोजना अन्तर्गत रु २५ करोड हाराहारीमा लगानी भएको समितिले जनाएको छ ।

Comments
Loading...