गण्डकी सरकारलाई ८५ लाखको स्वास्थ्य सामग्री

हिमाली आवाज । गण्डकी प्रदेश सरकारलाई प्रतिमान निमा स्मृति प्रतिष्ठानले कोभिडसँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

प्रतिष्ठानलाई अमेरिकाबाट प्राप्त स्वास्थ्य सामग्री प्रतिष्ठानकी कार्यकारी निर्देशन स्वाती थापाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गर्नुभयो । झण्डै ८५ लाख रुपैयाँ बरारबरका ती सामग्री मुख्यमन्त्री पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङलाई प्रदान गर्नुभएको थियो ।

गाउन आइसोलेसन, फेस सिल्ड, मास्क, एन ९५ मास्क, डिजिटल थर्मोमिटर, पिपिई सेट, इमर्जेन्सी रिलिफ बेड, पञ्जा लगायतका सामग्री प्रतिष्ठानले सरकारलाई प्रदान गरेको हो । कार्यक्रममा मुख्यमन्त्री पोखरेलले विश्वभर कोभिड १९ को महामारी फैलिइरहेका बेलामा प्राप्त सहयोगको ठूलो महत्व हुने बताउनुभयो । प्राप्त सामग्रीको उचित सदुपयोग गर्न मुख्यमन्त्री पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई आग्रह गर्नुभयो ।

सिमित स्रोत साधनबाट प्रदेश सरकार सञ्चालित भइरहेको अवस्थामा दातृ निकाय, छिमेकी र मित्र राष्ट्र, विभिन्न संघ संस्थाको सहयोगबाट कोभिड नियन्त्रण र रोकथामका काम गर्दै आएको मुख्यमन्त्रीको भनाई छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले कोरोनाले आक्रान्त बनाएका बेला प्राप्त सहयोगको अधिकतम सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले विदेशबाट प्राप्त हुने सहयोग अन्तर्राष्ट्रिय मापदण्ड अनुकुल हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले पूर्वमन्त्री दीपक बोहोरा र उहाँकी दिदी पूर्व स्वास्थ्य विशेष सचिव विजया केसीले मातापिताका नाममा संस्था स्थापना गरेको जानकारी गराउनुभयो ।

अहिले प्रतिष्ठानको अध्यक्ष केसी र उपाध्यक्ष बोहोरा रहनुभएको छ । प्रतिष्ठानले अमेरिकाका विभिन्न संस्थासँग पहल गरी स्वास्थ्य सामग्री मगाएको हो । झन्डै ५ करोडका सामग्री चार्टर फ्लाइटमा नेपाल ल्याइएको हो । कार्यकारी निर्देशक थापाका अनुसार सातवटै प्रदेशमा यी सामग्री वितरण गर्ने कार्यक्रम छ ।

२०६० सालामा स्थापित प्रतिष्ठानले स्वास्थ्य शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ । विश्वमा नाम चलेका विश्वविद्यालयसँगको सहकार्यमा अनुसन्धानको काम समेत प्रतिष्ठानले गर्दै आएको छ । हस्तान्तरण कार्यक्रममा प्रदेशका स्वास्थ्य सचिव विनोदबिन्दु शर्मा, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारी लगायत उपस्थित रहनुभएको थियो ।

 

Comments
Loading...