हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)ले पार्टीको गण्डकी प्रदेश, कास्की जिल्ला र पोखरा महानगरपालिका कमिटीको कार्यालय स्थापना गरेको छ ।
पोखरा–८ जाल्पारोडमा स्थापना गरिएका कार्यालयको आज पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गर्नुभयो ।अध्यक्ष नेपालले रिवन काटेर तीन वटै कार्यालयको शुभारम्भ गर्नुभएको हो । उहाँले पार्टी र राष्ट्रिय झण्डाको झण्डोत्तोलन समेत गर्नुभयो ।
मासिक रु ६० हजार तिर्ने गरी भाडाको घरमा प्रदेश, जिल्ला र महानगरको पार्टीले कार्यालय स्थापना गरेको पार्टीका जिल्ला सचिवालय सदस्य यदुनाथ अधिकारीले जानकारी दिनुभयो ।तीन तलाको घरमा दोस्रो तलामा जिल्ला र महानगर पालिकाको कार्यालय राखिएको छ भने माथिल्लो तलामा प्रदेश कार्यालय रहेको छ ।
नेकपा एकीकृत समाजवादीले केही दिनअघि तुलबहादुर गुरुङको अध्यक्षतामा प्रदेश कमिटी घोषणा गरेको थियो । पार्टीका जिल्ला अध्यक्ष धनराज आचार्यले जिल्लाका ७२ वडा मध्ये अधिकाँस वडामा पार्टी कमिटी गठन भइसकेको जानकारी दिँदै बाँकीमा छिट्टै गठन गरिने जानकारी दिनुभयो ।
जिल्ला कमिटी १८५ सदस्सीय र महानगर कमिटी १४१ सदस्सीय रहेको बताइन्छ । यसबीचमा विद्यार्थी, महिला, युवा सङ्घ, पिपुल्स भोलियन्टर्स लगायतका जनवर्गिय सङ्गठनको जिल्ला कमिटी गठन भएको बताइन्छ ।