स्वास्थ्य बीमामा हरेक सर्वसाधारणको पहुँच आवश्यक : मन्त्री अधिकारी

हिमाली आवाज । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधुमाया अधिकारीले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

स्वास्थ्य बीमा बोर्डको आयोजनामा बिहीबार पोखरामा आयोजित गण्डकी प्रदेशका स्वास्थ्य बीमामा आवद्ध सेवा प्रदायक संस्थाहरूसँग स्वास्थ्य बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले स्वास्थ्य बीमामा हरेक सर्वसाधारणको पहुँच पु¥याउनुका साथै सेवाको गुणस्तरीयता अभिबृद्धि गर्नुपर्ने बताउनुभयो ।

प्रदेशमा आर्थिक समृद्धिसँगै स्वास्थ्य समृद्धि आवश्यक भएको बताउँदै मन्त्री अधिकारीले स्वास्थ्य बीमा सञ्चालनमा आएको ५÷६ वर्षको अवधिमा महत्वपूर्ण उपलब्धि हासिल भएको र यसलाई क्रमशः व्यवस्थित गर्दै जानुपर्ने आवश्यकता औंल्याउनुभयो ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलाले स्वास्थ्य बीमा कार्यक्रममा बिरामी भएको बेला उपचारमा हुन सक्ने ठूलो खर्च धान्न कठिन नहोस् भनेर पहिले नै योगदान रकममार्फत जोखिम व्यवस्थापन गरिने बताउनुभयो । त्यसबाट भविष्यमा स्वास्थ्य समस्याबाट हुनसक्ने अनियोजित खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गरी वित्तीय संरक्षण प्रदान गर्ने उहाँको भनाइ छ ।

बोर्डका बरिष्ठ स्वास्थ्य प्रशासक डा.माधव लम्सालले आगामी दिनमा बीमा सेवाको दावी, मूल्याङ्कन तथा भुक्तानी प्रणाली सहज, सरल र पारदर्शी बनाइने बताउनुभयो । बीमित बढाउने र सेवाको गुणस्तर बढाउनेतर्फ बोर्ड कृयाशिल बनेको उहाँले बताउनुभयो ।

बोर्डका गण्डकी प्रदेश संयोजक जीवलाल खरेलले स्वास्थ्य विमा सेवालाई प्रभावकारी बनाउँदै गुनासो रहति सेवा प्रवाह गर्नेतर्फ बोर्ड कृयाशिल बनेको बताउनुभयो । स्वास्थ्य सेवाको खर्चलाई कम गर्ने, स्वास्थ्य समस्याको कारणले हुन सक्ने आर्थिक जोखिमलाई न्युनीकरण गर्ने संयन्त्र स्वास्थ्य बीमा रहेको बताउँदै सबै नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन, स्वास्थ्य सेवा उपयोगको क्रममा अनियोजित रुपमा भैरहेको व्यक्तिगत खर्चलाई व्यवस्थित गर्दै उपलब्ध स्रोतको प्रभावकारी व्यवस्थापनका लागि यो कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यष विमला भण्डारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक भरतबहादुर खत्री, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खिमबहादुर खड्का लगायतले बीमा प्रणाली सक्षम एवम् प्रभावकारी भएका देशबाट नेपालले पनि सिक्नुपर्ने बताउँदै यसको प्रभावकारिताले स्वास्थ्य सेवामा महत्वपूर्णं उपलब्धि हासिल हुने धारणा राख्नुभयो ।

कार्यक्रममा सहभागीबाट प्रथम सेवा विन्दुका रुपमा देखिएका समस्या, भुक्तानी व्यवस्थापनमा देखिएका समस्याका साथै बुझाइमा अस्पष्टताका कारण बीमित र सेवा प्रदायकबीच देखिएका समस्यालाई निराकरण गर्नुपर्नेमा जोड दिइएको थियो ।

Comments
Loading...