बडादशैं आजबाट सुरु : घटस्थापनाको साइत बिहान ११ः४६ बजे

काठमाडौं। नेपालीहरुको महान चाड बडादशैं आजदेखि सुरु भएको छ। दशैंको पहिलो दिन आज घर घरमा घटस्थापना गरी मनाइदै छ।
पौराणिक मान्यता अनुसार दुर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्न आजदेखि घर घरमा ९ दिनसम्म दुर्गा भवानीको आराधना गर्ने परम्परा रहेको छ।

नवरात्रको पहिलो दिन आज घटस्थापना गरी शैलपुत्री देवीको पूजा आराधना गरिन्छ। दशैं घर वा पूजा कोठामा मकै, गहुँ, जौं आदि अन्नको बीज छरेर घटस्थापना गरिन्छ।

शैलपुत्रीको पूजा आराधना गरेमा लामो आयु हुने, दीर्घ रोगबाट बच्न सकिने र आरोग्य प्राप्त हुने धर्म शास्त्रमा उल्लेख छ। शास्त्रीय विधि अनुसार आज शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको जानकारी दिएको छ। घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्ने छ। दसैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा लिइन्छ।

Comments
Loading...