घान्द्रुक जीप दुर्घटना :मृतक सात विद्यार्थी पोखरा घुम्न आएका थिए

हिमाली आवाज । पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज दिउँसो दुर्घटना हुँदा चालक सहित आठ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृतक मध्ये सात जना काठमाडौँबाट पोखरा घुम्न आएका विद्यार्थी रहेका छन् । २७ वर्ष मुनिका उनीहरु दशैँ विदाका अवसरमा पोखरा हुँदै घान्द्रुक घुम्न निस्केका रहेको बताइन्छ ।

यसैगरी दुर्घटनामा एक जनालाई सकुशल उद्धार गरिएको र अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा जीप चालक कास्कीको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुल बस्ने ४२ वर्षीय खुशीमान क्षेत्री हुनुहुन्छ ।

यसैगरी अन्य मृतकहरुमा जीपमा सवार काठमाडौँ महानगरपालिका–३ गंगबु बस्ने १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले,१८ वर्षीय आशिष आले र गोरखा घर भई हाल काठमाडौँ गंगबु बस्ने २७ वर्षीय विनय क्षेत्री रहेको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।

घटनामा काठमाडौँ महानगरपालिका–३ गंगबु बस्ने २० वर्षीया देविका घिसिङको बायाँ हात र नाकमा समान्य चोट लागेको र अस्पताल जानुपर्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ ।

भीरमा अड्किएको अवस्थामा उहाँलाई प्रहरी र स्थानीयले सकुशल उद्धार गरेकोे प्रहरी नायब उपरीक्षक नायब उपरीक्षक विकले जानकारी दिनुभयो । प्रहरीका अनुसार दुर्घटनामा परेकाहरु काठमाडौँमा घुम्नका लागि पोखरा आएको बताइन्छ ।

पोखराबाट घान्द्रुक तर्फ जादै गरेको ग १ ज ६९०० नम्बरको को बोलेरो जीप अन्दाजी १ः३० बजेको समयमा हुदुस्थित सडकबाट आफै अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्ष सुवास हमालले जानकारी दिनुभयो ।

Comments
Loading...