प्रतिगमनको खतरा रहँदासम्म पाँच दलीय गठबन्धन :ऊर्जामन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रतिगमनको खतरा रहँदासम्म वर्तमान पाँच दलीय गठबन्धन कायम रहने बताउनुभएको छ । राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेर गठबन्धनको सरकार बनेको बताउँदै उहाँले भन्नुभयो, “जनताको आकांक्षालाई सम्बोधन गर्न र उपलब्धी रक्षा गर्न गठबन्धन बनेको हो ।”

ललितपुरको ठेचोमा आज आयोजित नवदुर्गा भवानीदेवी मन्दिर उद्घाटन तथा गोदावरी नगरपालिकाद्वारा स्थापित अक्षयकोष रकम सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा मन्त्री भुसालले गठबन्धन सरकारले जनताको चाहनाभन्दा बाहिर गएर कुनै पनि काम नगर्ने स्पष्ट पार्नुभयो ।

आफू निर्वाचनमा जाँदा कला र संस्कृतिको संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गरेअनुसार काम भएको बताउँदै उहाँले भन्नुभयो, “हाम्रो ललितपुर, कला संस्कृति र सम्पदाले सम्पन्न छ, त्यसको संरक्षण र विकास गर्ने गर्नुपर्छ, सोही अनुसार काम भइरहेको छ ।”

विसं २०७२ को भूकम्पले क्षति पु¥याएका मठमन्दिरहरू जनप्रतिनिधिको पहल र सहयोगमा निर्माण सम्पन्न हुँदै गएको बताउँदै मन्त्री भुसालले भन्नुभयो, “बाँकी रहेका सम्पदा निर्माणमा चाँडै सम्पन्न हुनेछन् ।” उहाँले कोभिडका कारण स्रोत र साधन अन्येत्र लैजानु परेको तथा काम सम्पन्न गर्न ढिलाइ भएको जानकारी गराउनुभयो ।

कार्यक्रममा बागमति प्रदेशसभा सदस्य राजकाजी महर्जनले ललितपुरको कलासंस्कृतिलाई संरक्षणमा आफूले निरन्तर प्रयास गरिरहेको र आगामी दिनमा प्रतिबद्ध भएर काम गर्ने बताउनुभयो । ललितपर महानगरका प्रमुख चिरीबाबु महर्जनले जनताको आकांक्षाअनुसार नै सम्पदाको पुनःनिर्माणका भइरहेको बताउनुभयो ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले रु ५० लाखको अक्षयकोषमा स्थापना भएसँगै यहाँको देवीको जात्रा एवं पूजापाठका लागि कुनै पनि समस्या नहुने बताउनुभयो ।

Comments
Loading...