‘पावर पोलिटिक्स’मा डुबेको माओवादीलाई सच्चाउने अवसर :नेता पुन

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं पूर्व उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले पार्टीको आसन्न राष्ट्रिय सम्मेलनबाट नेपाली मौलिकता सहितको समाजवादको खाका तय गरिने बताउनुभएको छ ।

पोखरामा आज कार्यकर्ता भेटघाटमा उहाँले पार्टीको नेतृत्वमा हालसम्म भएका परिर्वतनका एजेण्डाहरुको स्वामित्व लिने र पार्टीलाई जनता र उत्पादनसँग जोड्दै समाजवादमा पुग्ने कार्यदिशा पार्टीको रहने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,“पार्टीलाई ग्राउण्डेट गर्ने गरी जानुपर्ने आवश्यकता छ । राष्ट्रिय सम्मेलनमा यसमा बहस हुन्छ । पावर पोलिटिक्समा डुबेको माओवादी पार्टीलाई सुधार गरेर सच्चाउने अवसर राष्ट्रिय सम्मेलनमा छ । ”युवा नेता पुुनले पार्टीका वडा र पालिका सम्मेलनहरुमा स्थानीय एजेण्डाका बारेमा बहस हुनुपर्ने र त्यसलाई स्थापित गर्नुपर्नेमा कुनै पनि पार्टीमा त्यस्तो हुन नसकेको टिप्पणी गर्नुभयो ।

“वडाले वडास्तरको, पालिकाले पालिका स्तरको एजेण्डा तय गनुपर्ने हुन्छ । जनता एकातिर, पार्टी अर्कातिर हुँदा पार्टी बनेन ।”नेता पुनले भन्नुभयो,“स्थानीय पार्टी र कार्यकर्ताले स्थानीय स्तरको शिक्षा, स्वास्थ्य, सामाजिक, लैङ्गिक विभेद, जनतालाई उत्पादनसँग जोड्ने, रोजगारी सिर्जना, स्वरोजगार, श्रमप्रतिको सम्मान लगायतका एजेण्डा पहिचान गर्ने र त्यसलाई अनरसिप लिदै स्थापित गर्नुपर्दछ ।”

माओवादी पार्टीलाई ज्ञानमा आधारित पार्टी बनाउनुपर्नेमा नेता पुनले जोड दिनुभयो । उहाँले भन्नुभयो,“देशमा बहस नभएको धेरै भयो, ज्ञानका कुरापनि भएन पार्टीमा । माओवादीलाई नलेज बेस पोलिटिक्स र नलेज बेस पार्टी बनाउनुप¥यो ।”

Comments
Loading...