मुख्यमन्त्री पोखरेलको निर्देशन :निर्वाचनमा कति बेला के हुन्छ भन्न सकिँदैन, गम्भीरतापूर्वक कार्ययोजना बनाउनुहोस्

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भयरहित तरिकाले निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तत्पर रहेको भन्दै जिल्लाको अवस्था अनुसार सुरक्षा योजना बनाउन निर्देशन दिनुभएको छ ।

आइतबार तनहुँमा भएको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा ७ जिल्लाको सुरक्षाको अवस्था, सबल पक्ष र चुनौतीका बारेमा प्रमुख जिल्ला अधिकारीहरुको प्रस्तुति सुनेपछि उहाँले सो निर्देशन दिनुभयो ।

प्रदेशको आन्तरिक मामिला मन्त्रालयले गरेको कार्यक्रममा कास्की, तनहुँ, स्याङ्जा, नवलपुर, गोरखा लमजुङ र मनाङका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय प्रमुख सहभागी थिए ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले भन्नुभयो,‘निर्वाचनमा कतिबेला कहाँ के हुन्छ भन्न सकिँदैन, त्यही अनुसार गम्भीरतापूर्वक कार्ययोजना बनाएर कार्यान्वयन गर्नुहोला ।’ निर्वाचन आयोग र संघ सरकारले निर्वाचनका लागि विशेष योजना बनाउने भए पनि यसमा प्रदेश सरकार समन्वय गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा आन्तरिका मामिला मन्त्री डोबाटे विकले प्रदेशका जिल्लाहरुको सुरक्षा अवस्था, अन्तर जिल्ला समन्वय, प्रदेश सरकारसँगको अपेक्षा, पालिकाहरुसँगको समन्वयका बारेमा जानकारी लिनका लागि बैठक राखिएको बताउनुभयो । उहाँले नजिकिँदै गरेको निर्वाचन, बर्खायाममा हुने विपदका घटनामा कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेमा यो बैठकबाट निर्णयमा पुग्न सहज हुने बताउनुभयो ।

उक्त अवसरमा ७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको शान्ति सुरक्षा र चुनौती अनि समस्याका बारेमा प्रस्तुती राखेका थिए । प्रमुख जिल्ला अधिकारीहरु मनाङका रवीन्द्र आचार्य, स्याङ्जाका राजुप्रसाद पौडेल, नवलपुरका शेखर घिमिरे, तनहुँका विश्वप्रकाश अर्याल, कास्कीका जयनारायण आचार्य, लमजुङका सुमन वैद्य, गोरखाका शंकरहरि अधिकारीको प्रस्तुतिमा उठेका विषयवस्तुमाथि छलफल गरिएको थियो ।

सुरक्षा निकायलाई सवारी साधान र इन्धनको अभाव, भौतिक पूर्वाधार नहुँदाको समस्याका साथै उत्तरी नाकामा सीमा सुरक्षा कार्यालय नहुँदाका समस्याका बारेमा प्रजिअहरुले जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाली सेनाको ३ नम्बर बाहिनी खैरेनीटारका प्रमुख सहायक रथी प्रेम पुन, नेपाली प्रहरी गण्डकी प्रदेश प्रमुख डिआइजी दिवेश लोहनी, अनुसन्धान कार्यालयका प्रदेश प्रमुख अनुसन्धान निर्देशक कुलदेव थापा, सशस्त्र प्रहरी मुक्तिनाथ वाहिनीका प्रमुख डिआइजी शम्भु रेग्मी आन्तरिक मामिला मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, उपसचिव यामप्रसाद पौडेलले सुरक्षाका अवस्थाका भनाई राख्नुभयो ।
प्रदेशका बाँकी ४ जिल्ला मुस्ताङ, म्याग्दी, पर्वत र बागलुङको बैठक बागलुङमा हुने भएको छ ।

Comments
Loading...