प्रहरीनै घुस सहित अख्तियार पोखराको टोलीद्धारा नियन्त्रणमा

हिमाली । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बाग्लुङमा कार्यरत एक प्रहरी कर्मचारीलाई रु ३८ हजार घुस सहित नियन्त्रणमा लिएको छ ।

आयोगको प्रादेशिक कार्यालयले बुधबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी सो गुल्ममा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोलाई लेनदेन सम्बन्धी केस मिलाइदिने भनि सेवाग्राहीसँग घुस माग गरिरहेको अवस्थामा मङ्गलबार साँझ नियन्त्रणमा लिइएको जनाएको छ ।
पोखरास्थित कार्यालयका प्रमुख पार्वती शर्माले घुस माग गरेको सूचनाका आधारमा पोखराबाट खटिएको टोलीले महतोलाई विपद् व्यवस्थापन गुल्म नजिकैबाट घुस रकम सहित पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौँ पठाइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी निवेदनका आधारमा आरोपितलाई पोखराबाट गएको आयोगको टोलीले नियन्त्रणमा लिएको हो । उहाँलाई आज विहाननै काठमाडौँ पठाइसकेका छौँ ।”

कार्यालय प्रमुख शर्माले भ्रष्टाचार विरुद्ध र सुशासनका लागि सञ्चार क्षेत्रबाट आयोगले सहकार्यको अपेक्षा गरेको बताउनुभयो । उहाँले आयोग कसैको दवाव र प्रभावमा नपरिकन आफ्नो जिम्मेवारी पूरा गर्ने बताउँदै कार्यालयका कमीकमजोरी औँल्याइदिएर सुधारका लागि अवसर प्रदान गर्न समेत आग्रह गर्नुभयो ।

आयोगको पोखरा कार्यालयमा गत चैत मसान्तसम्म अख्तियार दुरुपयोग सम्बन्धी ९३६ उजुरी दर्ता भएकामा ४५१ फछ्र्योट गरिएको र ४८५ वटा बाँकी रहेको सूचना अधिकारी देवीप्रसाद थपलियाले जानकारी दिनुभयो । प्राप्त उजुरीहरु मध्ये स्थानीय तहका सबैभन्दा बढी छन् । स्थानीय तहका ३४७ उजुरी मध्येमा १६२ वटा फछ्र्योट गरिएको थपलियाले बताउनुभयो ।

Comments
Loading...