हिमाली आवाज ।पोखरा महानगरपालिका– १८ मा जनयुद्धका पुर्वलडाकु दीपेन्द्र तिमिल्सिना सहित १० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
विसं २०६० देखी माओवादीले सञ्चालन गरेको जनयुद्धमा होमिएका तिमिल्सिना शान्ति प्रक्रियापछि स्वतन्त्र रहेकामा परिर्वतनको रक्षाका लागि पुनः माओवादी शक्तिशाली र बलियो बनाउने अठोट सहित पार्टीमा फर्किनुभयो ।
यसैगरी सोही वडाका एमाले क्रियाशिल सदस्य इन्द्र अधिकारी, काँग्रसेका क्रियाशिल सदस्य एवं अधिबक्ता श्रीकृष्ण अधिकारी, लक्ष्मी भण्डारी लगायत १० जना माओवादी केन्द्रमा प्रवेश गरेको बताइन्छ ।
पार्टी प्रवेश तथा चुनावी कोणसभामा बोल्दै पोखरा– १८ मा माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार राजु शर्मा तिमिल्सिनाले माओवादी केन्द्रलाई मौका दिए सराङकोटलाई विकासको नमूना वडा बनाउने अठोट व्यक्त गर्नुभयो ।
उहाँले पार्टी भन्दा व्यक्तिलाई हेरेर भोट हाल्नुपर्ने समेत बताउँदै भन्नुभयो,‘सबै उम्मेदवारलाई तराजुमा राख्नु, । जता इमान्दारीता कोल्टीन्छ उतै भोट हाल्नुस ।’ केपी ओलीले संविधान, गणतन्त्र, राष्ट्रपतिलाई मजाक बनाएको कारण ओलीको बिरुद्धको आन्दोलनका लागि गठबन्धन चाहिएको उहाँको भनाई छ ।

निर्वाचन परिचालन कमिटी संयोजक टिकाराम तिमिल्सिना माओवादीले नेतृत्व गरेको काम र संस्था निश्पक्ष र सफा रहेको कारण जनताले माओवादीलाई अवसर दिनुपर्ने बताउनुभयो ।
महिला वडा सदस्य उम्मेदवार दुर्गा अधिकारी पिछडिएको महिलाको हितको लागि काम गर्ने बताउँदै महिलाको हक दिलाउने पार्टी माओवादी रहेको भन्दै निर्वाचित भएपछि महिलाको पिडामा मलम लगाउने बाचा व्यक्त गर्नुभयो ।
एकीकृत समाजवादी कास्की जिल्ला सदस्य राजेन्द्र अधिकारीले केपी ओलीले संविधान सक्न लागेको बताउनुभयो । माओवादी केन्द्र वडाका अध्यक्ष पुर्णखर तिमिल्सिनाले माओवादीको जित निश्चित रहेको बताउनुभयो । सोमबार प्रचार प्रसारको कार्याक्रम सेदीबाट सुरु भएर फ्याउरे खपौदी, माछापोखरी, भकुण्डे, तल्लो चङ्खपुरमा पुगेर समापन भएको थियो ।
मंगलबार सुन्दर पोखरी, तोरीपानी, मुलाबारी, नयाँगाउँ अर्माजा लगायतका ठाउँमा कार्याक्रम हुने निर्वाचन परिचालन समितिले जनाएको छ ।