स्वास्थ्य पत्रकार मञ्च गण्डकी प्रदेशको अध्क्षयमा बञ्जारा

हिमाली आवाज । पोखरामा क्रियाशील पत्रकारहरुको एक भेलाले स्वास्थ्य पत्रकार मञ्च गण्डकी प्रदेशले तदर्थ समिति गठन गरेको छ । समितिको अध्यक्षमा यदुनाथ बञ्जारा चयन हुनुभयो ।

पत्रकार महासंघ गण्डकी प्रदेश समितिको सचिव समेत रहनुभएका बञ्जाराको अध्यक्षतामा सर्वसम्मत गठित कार्यसमितिको उपाध्यक्षमा सुरज श्रेष्ठ, महासचिव अनिशाश्रेष्ठ, कोषाध्यक्षमा पुष्प दाहाल चयन भएका छन । सदस्यहरुमा रिना थापा, विन्दु परियार र निरज पन्त रहनुभएको छ ।

निर्वाचित कार्यसमितिलाई बधाई दिँदै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका महासचिव गोविन्द सुवेदीले स्वास्थ्य क्षेत्रमा रहेका विकृति विसंगतिको उजागर र सर्वसुलभ स्वास्थ्यका लागि खवरदारी गर्न जरुरी रहेको बताउनुभयो ।  पत्रकार स्थायी प्रतिपक्षी रहेकाले यो वा त्यो कारणले प्रभावित हुन नहुने उहाँको भनाई छ ।

नवनिर्वाचित अध्यक्ष बञ्जाराले स्वास्थ्य क्षेत्रमा रहेका विकृति विसंगतिका विरुद्ध सशक्त कलम चलाउने र स्वास्थ्य क्षेत्रमा कलम चलाउने पत्रकारलाई धेरैभन्दा धेरै समेटेर उनीहरुको हकहितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । भेलामा पोखरामा रहेर स्वास्थ्य क्षेत्रमा समाचार लेख्ने तीन दर्जन पत्रकारहरुको सहभागीता रहेको थियो ।

Comments
Loading...