पोखरा । पोखरा महानगरपालिकामा एक वर्षमा चिया खाजामा मात्रै साढे दुई करोड खर्च भएको छ ।
महालेखा परीक्षकको आव २०७७÷०७८ को प्रतिवेदन अनुसार चिया, खाना, खाजा तथा विविध खर्च शीर्षकमा २ करोड ४० लाख १५ हजार भुक्तानी भएको देखिएको र खर्चको विल मात्रै आएको र खर्च केमा भएको भन्ने नखुलेको हो । महालेखाले यस्तो खर्चमा मितव्ययिता अपनाउन भनेको छ ।
यस्तै, अनुगमन तथा भ्रमण खर्च समेत अनियमित रूपमा प्रयोग गरेको पाइएको छ । भ्रमणमा खटिने पदाधिकारी वा कर्मचारीले भ्रमण गरेपछि त्यसको अभिलेख राख्नुपर्नेमा अभिलेख विना चालू खर्च शीर्षकबाट अनुगमन, भ्रमण, विशिष्ट व्यक्ति तथा प्रतिनिधिमण्डलको भ्रमण आदि शीर्षकमा ४६ लाख ८४ हजार रुपैयाँ खर्च लेखेको छ ।

