हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ८ र ९ को सीमा भएर बग्ने पौखोलामा गएराति बाढी आउँदा २०० घरधूरी जोखिममा परेका छन् ।
नदी नियन्त्रणका लागि राखिएको तटबन्दभन्दा माथिबाट खोला लुम्रे बस्तीतर्फ आएकाले वडाका लुम्रे, ठाटी, नयाँपुल र खोराकोमुखका २०० घरहरुलाई अतिनै जोखिम बढेको सोही वडाका वडाध्यक्ष रामबहादुर गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो,“पौखोला बस्तीतर्फ सोझिएकाले ठूलो वर्षा हुँदा यसले भौतिक तथा मानविय क्षति पु¥याउने सम्भावना छ,आज विहानको समय भएकाले गाउँलेले खोलालाई केही नियन्त्रणको प्रयास गरेर क्षति रोकेपनि स्थानीयवासी त्रसित अवस्थामा छन् ।” बाढीले वडा नं ९ मा रहेको एक ट्राउट माछा फार्ममा पनि क्षति पु¥याएको बताइन्छ । क्षतिको विवरण आउन बाँकी छ ।
पौखोला नियन्त्रणका लागि तत्कालै काम थाल्न गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारसँग माग गरिएको वडाध्यक्ष गुरुङले बताउनुभयो । सो खोला नियन्त्रणका लागि रु ५९ लाख ९० हजार ७०० खर्च लाग्ने प्रारम्भिक लागत अनुमान रहेको बताइन्छ ।
पौखोलाले जोखिम बढाएको जानकारीपछि पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सांसद जगतबहादुर विश्वकर्माले स्थलगत निरीक्षण गर्नुभएको छ ।