पोल्याण्डका राजदुतबाट पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय अवलोकन

हिमाली आवाज । नेपालका लागि पोल्याण्डका राजदुत एडम बुराकोस्कीले आज पोखरा महानगरपालिका–१७ घारीपाटनमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको अवलोकन गर्नुभएको छ ।

पोखरा आएको मौकामा उहाँले संग्रहालयको भ्रमण गरी पर्वतीय पर्यटन र पोखराको पर्यटनका बारेमा चासो दिएर अवलोकन गर्नुभएको संग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले बताउनुभयो ।

सो अवसरमा राजदुत बुराकोस्कीले हिमाली क्षेत्रमा बसोबास गर्ने जातजातिहरूको रीतिरिवाज, भेषभूषा, कला र संस्कृतिका साथै भौगोलिक अवस्थाका बारेमा जानकारी लिनुभएको हो ।

अवलोकनपछि उहाँले आफू पहिलोपटक पोखरा आएको र व्यवस्थित संग्रहालयमा धेरै नयाँ कुरा देख्न पाउँदा खुःशी लागेको र यहाँको वातावरणबाट प्रभावित बनेको प्रतिक्रिया दिनुभएको थियो । राजदुत बुराकोस्कीले डेढ घण्टा संग्रहालयमा बिताउनुभएको थियो ।

संग्रहालयका कार्यकारी निर्देशक न्यौपानेले हिमाल र हिमाली क्षेत्रका सम्पूर्ण गतिविधिको पहिचान झल्किने भएकाले यहाँ अध्ययन अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षित हुने गरेको बताउनुभयो ।

राजदुतको भ्रमणले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास लिइएको उहाँले बताउनभुयो । विसं २०६० मा स्थापना गरिएको संग्रहालमा विश्वका आठ हजारभन्दा अग्ला १४ वटा हिमाल र हिमाली संस्कृतिसँग सम्बद्ध गतिविधिहरू प्रदर्शनमा राखिएका छन् ।

विश्वका हिमशृंखलाको उत्पत्ति, महत्तव, यस क्षेत्रका वन्यजन्तु, वनस्पति तथा खनिज पदार्थलगायतको प्रदर्शनी संग्रहालयमा देख्न सकिन्छ । संग्रहालयमा विहान ८ः३० बजेदेखी साँझ ५ः३० बजेसम्म खुल्ने गर्दछ ।

Comments
Loading...