पोखरामा पहिराले घर पुरिदा भाईको मृत्यु, दिदी घाइते

हिमाली आवाज । पोखरा महानगरपालिका –६ डिहिकोपाटन पधेँेरोमा आज विहान पहिराले घर पुरिदा एक जनाको मृत्यु भएको छ । विहान १२ः५५ बजे भएको घटनामा एक जना घाइते भएका छन् ।

अविरल वर्षापछि घर माथिबाट आएको पहिराले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको ब्लकको गारो र टिनको छानो भएको एक तलाको कच्ची घरको कोठा भत्किदा कोठा भाडामा बस्ने वर्ष २६ का सन्तोष सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनामा घाइते सुनारलाई विहान १ः५५ बजे उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा विहान २ः२० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटनामा कास्कीको माछापुच्छ«े गाउँपालिका–१ भुर्जुङखोला घर भई सोही घरमा बस्ने मृतक सन्तोषकी दिदी २७ वर्षीया सुनिता सुनार घाइते हुनुभएको छ । उहाँको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको बाहिरी चोट नदेखिएको र अवस्था मध्यम रहेको बताइन्छ ।

घटनामा सुनिताको छोरी १० वर्षीया सिम्रन सुनार भने सकुशल रहेको प्रनाउ तिवारीले बताउनुभयो । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको कालिका गणबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो । पोखरामा गएरातिदेखी अहिले विहानसम्म पनि ठूलो मात्रामा वर्षा भइरहेको छ ।

Comments
Loading...