तलब वृद्धिमा विभेद गरिएको भन्दै कास्कीका नासुहरु आन्दोलित

हिमाली आवाज । सरकारले चालू आर्थिक वर्षको निजामती कर्मचारीको तलब वृद्धिमा नायव सुब्बालाई विभेद गरिएको भन्दै उनीहरु आन्दोलित भएका छन् ।

कर्मचारीको तलबमान असमान ढंगले बढाउन खोजिएको कास्कीका विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुले आज काम बन्द गरेर शहीदचोकमा जम्मा भएर दिउसो १२ बजेदेखी दुई बजेसम्म धर्ना दिए ।बजेट वक्तव्यमा भएको व्यवस्थाविपरीत र कर्मचारीभित्रै विभेद हुने गरी तलब बढाउन खोजिएको कर्मचारीहरुको भनाई छ ।

नायब सुब्बा र त्योभन्दा तल्लो तहका कर्मचारीको तुलनामा अधिकृतदेखि सचिवसम्मका कर्मचारीको तलब वृद्धि बढी रहेकाले विरोध गरिएको नेपाल निजामती कर्मचारी युनियन कास्कीका सहसचिव जीवनाथ मरासिनीले बताउनुभयो ।

उहाँका अनुसार सुब्बाभन्दा तल्लो तहका कर्मचारीलाई विभेद गरिएकाले आन्दोलनमा उत्रिनु परेको हो । उहाँले भन्नुभयो,‘बजेटले सबै कर्मचारीलाई समान १५ प्रतिशतले तलब बढाउने भनेको थियो । अहिले अधिकृतदेखि सचिव तहसम्ममा बढाइएको तलबको प्रतिशत बढी छ । सुब्बाभन्दा तल्लो तहका कर्मचारीको कम छ ।’ विभिन्न राजनीतिक दलसँग सम्बन्धीत कर्मचारी संघ संगठनहरुले पनि नायब सुब्बाहरुको आन्दोलनमा साथ र एक्वेवद्धता जनाएका छन् । नासुहरुको धर्ना पछि आज कास्कीमा सार्वजनिक सेवा प्रदान गर्ने कार्यालयहरुको सेवा प्रभावित बनेको थियो ।

Comments
Loading...