हिमाली आवाज । नेपालमा क्रिकेट खेल्न आएको भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा खेलिएका चार वटै अभ्यास खेलमा पराजित भएको छ ।
पोखरा रङ्गशालामा शुक्रबार सम्पन्न टी–२० पुरुष क्रिकेटको अन्तिम अभ्यास खेलमा नेपाल क्रिकेट संघ(क्यान)–११ सँग भुटानी टोली १०४ रनको फराकिलो अन्तरले पराजित भएको हो ।
यससँगै भुटानले नेपाल भ्रमण अन्तर्गत खेलेका चारवटै अभ्यास खेलमा पराजय बेहोरेको छ । घरेलु टोली गण्डकी र क्यान–११ सँगका दुई÷दुई वटा खेलमा भुटान पराजित भएको हो ।
अन्तिम खेलमा जितका लागि एक सय ७७ रनको लक्ष्य पछ्याएको भुटानको टोली १७ ओभरको तेस्रो बलमा ७२ रनमै अलआउट भयो । भुटानका लागि सोनाम चोपेल र आनन्द मोंगरले समान १५ रन बनाए भने नामगे थिन्लेले १३ रन तथा तासी फुन्त्सोले १५ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
क्यान–११ का बलर विपिन शर्माले घातक बलिङ गर्दै चार ओभरमा १९ रन खर्चेर पाँच विकेट लिए । आकाश चन्दले दुई विकेट लिए भने राशिद खान, प्रकाश जैसी र बिपिन खत्रीले समान एक÷एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यान–११ ले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७६ रन बनाएको थियो । त्रितराज दासले सर्वाधिक ५१ रन बनाए । उनले ३१ बलमा चार चौका र तीन छक्का प्रहार गरे । कप्तान बिपिन खत्री ३८ रनमा अविजित रहे । मयंक यादवले १५ बलमा २६, राशिद खानले १३ बलमा २४ तथा सिब्रिन श्रेष्ठले १३ बलमा १९ रन बनाए ।
प्रतियोगितामा विजेता बन्न सफल क्यान–११ र गण्डकी प्रदेशको टोलीलाई सामाजिक विकास तथा खेलकुमन्त्री रेखा गुरुङले च्याम्पियन ट्रफी प्रदान गर्नुभयो ।
आईसीसी पुरुष टी–२० विश्वकप एसिया सब–रिजनल क्वालिफायर ‘ए’ को तयारीका लागि भुटानको टोली पोखरा आएको हो ।
मलेसियामा शनिबारदेखी सुरु हुने आईसीसी ‘मेन्स टी–२०’ विश्वकप एसिया सब–रिजनल क्वालिफायर ‘ए’ प्रतियोगिता सुरु हुँदैछ । सोही प्रतियोगितामा सहभागी भुटानले अभ्यास र तयारीका लागि पोखराको मैदानलाई रोजेको गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो ।
