हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले जनता, राष्ट्र र सामाजिक क्षेत्रको जीवनप्रति स्वास्थ्य क्षेत्र संवेदनशील रहेको बताउनुभएको छ ।
पार्टी निकट अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासङ्घको शुक्रबारदेखी पोखरामा सुरु भएको दुई दिने प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले विज्ञान र प्रविधिको विकासँगै स्वास्थ्य क्षेत्रमा पनि नयाँ नयाँ प्रविधिको विकास भएकाले जनस्वास्थ्यको क्षेत्रमा धेरै ठूलो फड्को हान्ने सम्भावनाहरु प्रवल बनेको उल्लेख गर्नुभयो ।
उहाँले पूँजीवादले स्वास्थ्य क्षेत्रलाई व्यापारको विषय बनाउने र जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने प्रवृत्ति कायमै रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो,“समाजमा विद्यमान बढ्दो अन्तरविरोधले कारणले स्वास्थ्य क्षेत्र पनि पूँजीवाद र समाजवादको बीचको लडाईको क्षेत्र बनिरहेको छ ।”स्वास्थ्यमा भएको प्रगति, यस क्षेत्रमा भएको नयाँ नयाँ प्रयोग र आविस्कारको कारणले जनस्वास्थ्यमा गुणात्मक प्रगतिको सम्भावना पनि उहाँले औल्याउनुभयो ।
जनस्वास्थ्यकर्मी महासङ्घ तथा यससँग सम्बन्धित सबै घटक सङ्गठनहरु जिम्मेवार बनेर जनस्वास्थ्यलाई सुलभ, सहज भरपर्दो बनाउने र जनतामा जनचेतना फैलाउने दायित्व राम्रोसँग निभाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो,“पूँजीवादी विकृति स्वास्थ्य क्षेत्रमा नराम्रोसँग प्रवेश गरेको छ । जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने क्रियाकलाप अहिले पनि कायमै छ । पूँजीवादी विकृतिलाई नियन्त्रण, विरोध र भण्डाफोर गर्ने दायित्य पनि प्रगतिशील सङगठनहरुको काँधमा छ ।”
उहाँले दोस्रो पटक प्रधानमन्त्री हुँदा स्वास्थ्यमा क्षेत्रमा सुधारको निम्ति स्वास्थ्य बीमा सम्बन्धी नयाँ नीति ल्याउने र लागू गरेपनि चाहे अनुसार अहिले अगाडि बढ्न नसकेको बताउनुभयो ।

“स्वास्थ्य बीमा स्वास्थ्य क्षेत्रको र जनताका लागि महत्वपूर्ण छ । यसलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन नगरिए विकृति र विसङ्गति आउने छ, हाम्रो ध्यान त्यसमा जानु पर्दछ ।”अध्यक्ष दाहालले भन्नुभयो ।स्वास्थ्य क्षेत्रबाट जनतामा चेतना अभिवृद्धि र जागरण ल्याउन महाधिवेशनले ठोस सुझाव दिने र पार्टी समेत त्यसबाट लाभान्वित हुने विश्वास अध्यक्ष दाहालको छ ।
नयाँ संविधान निर्माणपछि शिक्षा, स्वास्थ्य र रोजगारीलाई जनताको मौलिक अधिकारको रुपमा परिभाषित गरिएपनि उपयुक्त कानुन बन्न नसक्दा कार्यान्वनमा चूनौती देखिएको अध्यक्ष दाहालको भनाई छ ।महाधिवेशनमा देशैभरीबाट गरी ५०० प्रतिनिधि र पर्यवेक्षक ७५ जना गरी ५७५ जना प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको महासङ्घका अध्यक्ष डा कृष्णसागर पौडेलले जानकारी दिनुभयो । महाधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने बताइन्छ ।
स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपायहरु,समाजवादउन्मुख स्वास्थ्य नीति,स्वास्थ्य क्षेत्रको विकास एवं स्वास्थ्यकर्मीहरुका पेशागत अधिकार बारे महाधिवशेनमा गहन छलफल गरी कार्यान्वयनका लागि सवल र सक्षम नेतृत्व चयन गरिने अध्यक्ष पौडेलले बताउनुभयो ।
विसं २०६३ मा स्थापना भएको संगठन विसं २०६५ मा महासंघमा परिर्वतन हुँदै आफ्ना कार्यक्रममहरु गिड बढाइरहेको र महासंघमा देशभर गरी ५० हजार संगठित सदस्यहरु आवद्ध रहेको महासंघका नेता सागर लुईटेलले जानकारी दिनुभयो ।
नेपाल सरकारको कार्यालयहरुमा आवद्ध स्वास्थ्य स्वयंसेविकादेखी १२ तहका स्वास्थ्यकर्मीहरुसम्म, प्राविधिक शिक्षा लिएका स्वास्थ्यकर्मीदेखी उच्च पदस्य प्राध्यापकसम्म विभिन्न स्वास्थ्य व्यवसाय गर्ने स्वास्थ्यव्यवसायीहरुदेखी औषधी उत्पादन गर्नेसम्महरु महासंघमा आवद्ध रहेको केन्द्रीय उपाध्यक्ष शिव केसीले जानकारी दिनुभयो ।
देशभर व्यक्तिगत रुपमा स्वास्थ्य पेशामार्फत जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी लगायत जनयुद्धको बेला युद्धमोर्चामा सामेल स्वास्थ्यकर्मीहरु समेत यस महासङ्घमा आवद्ध छन् ।