चुनावमा मेरो नेता…

रामबहादुर नेपाली
बाह्र बर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा राखे पनि निकाल्दा बाङ्गाको बाङ्गै भने जस्तै नेपालमा जस्तो शासन, संबिधान नीति र नियम बने पनि जबसम्म शासकको आचरण र चरित्रमा परिबर्तन आउदैन तबसम्म मुलुकमा सुधारका केहि काम पनि हुदैनन् । हुने बिरुवाको चिल्लो पात भने झैँ यदि कुनै ठोस नीति कार्यक्रम लिएर सकारात्मक ढंगले अगि बढ्ने भए सरकार अहिलेसम्म धेरै अगाडि बढी सक्थ्यो तर बिना तयारी योजना लक्ष्य र दृष्टि बिना भाषण मात्र एक दुइ पटक त विश्वास गर्लान त्यसपछि आलोचना र सामाजिक संजालमा ट्रोल हुन थाल्छन ।

के नेताहरु कहिले जान्न चाहन्छन उनीहरुको पहिचान भाषणले होइन उनीहरुको नीति र कार्यशैलीबाट व्याख्या र परिभाषित हुनेछ त्यसैले चुपचाप कडा परिश्रम गरे उनीहरुको प्रचार कामले अवश्य गर्नेछ, इतिहास बन्ने छ र भावी पुस्ताले गर्ने छन् । तर त्यति छिटै सुध्रने पक्षमा भने नेताहरु अझै छैनन् । त्यसैले अब हामी जनताहरु सचेत भै गाली गलौज भन्दा बुद्दिमत्ता अपनाई आउने हरेक चुनावहरुमा उम्मेदवारहरुलाई निम्न बुदाहरुमा लिखित कबुलनामा गराई खबरदारी गर्ने जिम्मा अब तपाई हामी युवाहरुको हो । भोटको लागि एक महिना मरिहत्ते गर्ने जिते पछि क्षेत्रमा विकास त के फर्कदा पनि नफर्कने नेताहरुको लागि यो हर्कत तलको प्रक्रियाले एउटा कोसेढुंगा साबित हुनसक्छ।

१) सम्वन्धित चुनाब क्षेत्रमा भएको बाटोघाटो, बिजुली, पानी, गुणस्तरिय शिक्षा तथा सुलभ स्वास्थ्यको सुनिश्चित गर्ने, विद्यालय, अस्पतालको भवन, तथा गुणस्तर सुधार तथा उन्नतिमा ध्यान दिने।

२) चुनाव क्षेत्रमा भएका युवाहरुको तथ्याड़क संकलन गरि रोजगारका अवसर सृजनाको लागि पहल गर्ने र खेलकुदका लागि स्थानानुकुल भवन र भलिबल तथा फुटबलको साथै अन्य खेलको लागि मैदान निर्माण गर्न सहयोग र बिशेस पहल गर्ने।

३) गरिब, निमुखा, बृद्द,अशक्त र महिलाहरुको लाभयुक्त परियोजनाको विकल्प खोज्ने र सुरु गर्ने ।

४) चुनावी क्षेत्रमा रहेका किसानहरुलाई सरल, सुलभ ऋण उपलब्ध गर्न पहल गरि वाली खाद्यान्न, बाख्रापालन, कुखुरा, गाईभैसी, दूध, तरकारी फलफुलहरुमा लाग्न उत्प्रेरित गरि राष्ट्रलाइ स्वस्थ, अर्गानिक खानेकुरा उपलब्ध गरेर परनिर्भरतामा कम गर्ने । त्यसो त भारतबाट दैनिक आउने तरकारी, खाधन्य, माछा, मासुहरुमा बिषाधिहरु पाइएका घटना दिनहु आईरहेका छन।

५) चुनाब क्षेत्रमा रहेका पौराणिक, पार्टी, पौवा, बिश्राम र पर्यटन स्थलको पहिचान गरि त्यसलाई विकाश गर्ने । र उत्पादनयुक्त जमिनको पहिचान गरि कृषि, तरकारी फलफूललाई प्राथमिकताका साथ अगाडि बढाउन उचित कदम चाल्ने र सम्बन्धित निकायमा समन्वय गर्ने ।
६) त्यहीअनुसार उत्पादन वाली, बस्तुहरु र सामानको उचित मूल्य र बजारको व्यवस्था सुनिश्चित गर्ने ।

७) क्षेत्रमा रहेका सरकारी कार्यालय रहेका कर्मचारीसंग निरन्तर वार्तालाभ गरि जनताको काजकाममा ढिला सुस्ती नगर्न सुझाव र निर्देशन दिन,े भ्रष्टाचार जस्ता कुराको अनुगमन गरी सचेत गराउन पहल गर्नुपर्ने ।

८) आफ्नो क्षेत्रमा जहाँ जति बेला भईपरी आउने समस्या, प्राकृतिक प्रकोपलाई प्राथमिकता साथ स्वीकार गरी सहयोग गर्ने ।

९) विजयपश्चात कम्तिमा पनि ३ महिनामा एकपटक चुनाबी क्षेत्रको भ्रमण गरी जनताका साथ सुखदुःखमा साथ दिने र वचवद्दता गरेका कामहरुको प्रगति विवरण सार्वजनिक गर्ने। काममा भएका बाधा अड्चन भएर ढिलाई भए सम्बन्धित निकायसंग गरिएको लिखित् पत्राचारको प्रतिलिपि उपलब्ध गराउनुपर्ने।

१०) सांसद बनिसकेपछि देशको संसदका हरेक बैठकमा उपस्थिति भै क्षेत्रका समस्या देश, संसद अनि सम्बन्धित निकाय सम्म राख्नुपर्ने।

११) चुनावी क्षेत्रको भेटमा कुनै पनि भव्य, बाजागाजा बिना नै सामान्य छिटो छरितो बनाउने । फूलमाला खादा र अविरको प्रयोग नगर्ने। त्यसो गर्दा जनता र नेता बीचको सम्बन्धमा निकटता हुन नसक्ने अनि नेता जनताका सेवक पनि भएकोले त्यसले राम्रो संदेश र शोभा दिदैन।
१२) आधिकारिक भ्रमण अथवा निजि भ्रमणमा र छुट्टीमा लामो समय देश वा विदेशमा जादा संसदीय क्षेत्रमा सूचना गर्नुपर्ने।

अन्त्यमा, नेताहरु वहादुर, निडर, बोल्ने र सबैसंग घुलमिल हुन्छन, त्यसका वावजुद नेताहरुको एउटा मात्र डर चुनाबमा हुन्छ त्यो हो हार्ने डर, त्यसैले अब जाग्ने पालो हाम्रो हो हरकदमलाइ अब आलोचना, रिस र आवेगले मात्र होइन विवेकपूर्ण ढंगले एक जुट अनि जागरुक भई चुनावपूर्व उम्मेदवारसंग यस्तै किसिममा प्रतिवद्द्ता सम्झौतामा हस्ताक्षर गरी राख्ने र बेला बेलामा याद दिलाउने तथा कुनै पनि काम प्रतिबद्दता पुरा नभए राष्ट्रिय पत्रिका र टिभीहरुमा प्रसारण गर्ने सके पक्कै पनि नेताहरुको आचरणमा अवश्य सुधार भई एउटा समृद्ध नेपालको परिकल्पना साकार हुन टेवा पुग्ने छ।
धन्यवाद
(लेखक नेकपा(माओवादी केन्द्र)का युवा नेता हुनुहुन्छ ।)

Comments
Loading...