कालिका क्याम्पस र युआरएल बीच सहकार्य, विद्यार्थीलाई स्वास्थ्य सेवा र रोजगारीको अवसर

हिमाली आवाज । नेपालको उच्च शिक्षाको क्षेत्रमा गुणस्तरीय, अनुसन्धानमुखी तथा समुदायप्रति उत्तरदायी शैक्षिक संस्थाका रूपमा स्थापित कालिका बहुमुखी क्याम्पस र देशकै प्रतिष्ठित तथा आधुनिक स्वास्थ्य परीक्षण संस्था युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.लि  बीच शिक्षा, स्वास्थ्य, अनुसन्धान तथा रोजगार प्रवद्र्धनका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ । पोखरा महानगरपालिका–१४ मा अवस्थित कालिका बहुमुखी क्याम्पस र पोखरास्थित युनाइटेड रेफरेन्स ल्याबोरेटरीबीच भएको यो सम्झौतालाई शिक्षा र स्वास्थ्य क्षेत्रबीचको प्रभावकारी साझेदारीका रूपमा हेरिएको छ ।

विशेष समारोहका बीच सम्पन्न उक्त सम्झौतापत्रमा कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा. बिरञ्जी गौतम तथा युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.लि.का प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले हस्ताक्षर गर्नुभएको थियो । दुवै संस्थाका पदाधिकारी, शिक्षक, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थितिमा सम्पन्न यस सहकार्यले विद्यार्थी, शिक्षक, कर्मचारी तथा समुदायलाई प्रत्यक्ष लाभ पुर्याउने विश्वास व्यक्त गरीएको छ ।

नेपालकै उत्कृष्ट सामुदायिक क्याम्पसका रूपमा परिचित कालिका बहुमुखी क्याम्पसले शैक्षिक उत्कृष्टता, संस्थागत सुशासन, गुणस्तर सुनिश्चितता तथा अनुसन्धानमुखी वातावरणका कारण विशिष्ट पहिचान निर्माण गर्न सफल भएको छ । विश्वविद्यालय अनुदान आयोगको इतिहासमै सबैभन्दा छोटो समयमा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्राप्त गरेको यस क्याम्पसले स्नातक तह अन्तर्गत शिक्षा, व्यवस्थापन तथा मानविकी संकायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्नातकोत्तर तह अन्तर्गत MBS tyf MARD सञ्चालन गरिरहेको छ भने +२ अन्तर्गत शिक्षा, विज्ञान, व्यवस्थापन तथा मानविकी अन्तर्गतका विषयहरुको पठनपाठन गर्दे आएको छ । निकट भविश्यमा BBA, BHM tyf BITM लगाएतका कार्यक्रम समेत सञ्चालनको अन्तिम चरणमा पुगेको छ । आधुनिक शिक्षण–सिकाइ पद्धति, अनुसन्धान, नवप्रवर्तन र सामुदायिक सेवालाई प्राथमिकतामा राख्दै आएको क्याम्पसले दक्ष, सक्षम तथा जिम्मेवार जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।

त्यसैगरी युनाइटेड रेफरेन्स ल्याबोरेटरी (URL) देशकै अग्रणी स्वास्थ्य परीक्षण संस्थामध्ये एक हो । अत्याधुनिक प्रविधि, दक्ष प्राविधिक जनशक्ति, गुणस्तरीय परीक्षण प्रणाली तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारका प्रयोगशाला सेवामार्फत URL ले स्वास्थ्य क्षेत्रमा विश्वासिलो सेवा प्रदान गर्दै आएको छ । रक्त परीक्षण, माइक्रोबायोलोजी, बायोकेमिस्ट्री, इम्युनोलोजी, आणविक परीक्षण लगायत विविध स्वास्थ्य परीक्षण सेवामा संस्थाले विशेष दक्षता हासिल गरेको छ । स्वास्थ्य सेवा क्षेत्रसँगै अनुसन्धान र शैक्षिक सहकार्यमा समेत सक्रिय सहभागिता जनाउँदै आएको URL ले विभिन्न शैक्षिक संस्थासँग साझेदारी गरी प्रयोगात्मक सिकाइ तथा व्यावसायिक दक्षता विकासमा योगदान पुर्याइरहेको छ ।

सम्झौताअनुसार कालिका बहुमुखी क्याम्पसका सञ्चालक समिति सदस्य, सिनेटर, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूले युनाइटेड रेफरेन्स ल्याबोरेटरीबाट उपलब्ध हुने विभिन्न स्वास्थ्य परीक्षण सेवामा विशेष सहुलियत प्राप्त गर्नेछन् । सम्झौतामा इनहाउस ल्याब परीक्षणमा ३० प्रतिशत तथा आउटसोर्स ल्याब परीक्षणमा १० प्रतिशत छुट प्रदान गर्ने व्यवस्था गरिएको छ । त्यस्तै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई विभिन्न नमुना परीक्षण सेवामा ३० प्रतिशतसम्म छुट उपलब्ध गराइनेछ । यसबाट विद्यार्थी तथा शैक्षिक समुदायले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य परीक्षण सेवामा पहुँच प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

सम्झौताले स्वास्थ्य सेवाको पहुँच विस्तारमा मात्र सीमित नभई अनुसन्धान तथा व्यावसायिक विकासका क्षेत्रलाई समेत समेटेको छ । विशेषगरी विज्ञान तथा माइक्रोबायोलोजी विषय अध्ययन गरिरहेका तथा अध्ययन सम्पन्न गरेका विद्यार्थीहरूका लागि यो सहकार्य अत्यन्त महत्वपूर्ण मानिएको छ । सम्झौताअनुसार माइक्रोबायोलोजी अध्ययन गरेका योग्य विद्यार्थीहरूलाई युनाइटेड रेफरेन्स ल्याबोरेटरीमा इन्टर्नसिप, प्रयोगात्मक अभ्यास, अनुसन्धान सहकार्य, व्यावसायिक प्रशिक्षण तथा रोजगारीका अवसर उपलब्ध गराउन प्राथमिकता दिइनेछ । यसबाट विद्यार्थीहरूले कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई प्रयोगशालामा व्यवहारिक रूपमा उपयोग गर्ने अवसर प्राप्त गर्नुका साथै आफ्नो व्यावसायिक क्षमता अभिवृद्धि गर्न सक्ने विश्वास गरिएको छ ।

आजको विश्वव्यापी प्रतिस्पर्धात्मक परिवेशमा उच्च शिक्षालाई रोजगारी र व्यावसायिक दक्षतासँग जोड्नु अपरिहार्य मानिन्छ । यस दृष्टिले हेर्दा कालिका बहुमुखी क्याम्पस र URL बीचको यो सहकार्य नेपालमा उच्च शिक्षा र उद्योग–व्यवसायबीचको सम्बन्धलाई सुदृढ बनाउने उदाहरणीय पहलका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ । विशेषगरी विज्ञान तथा स्वास्थ्य क्षेत्रका विद्यार्थीहरूलाई अध्ययनकालदेखि नै व्यावसायिक वातावरणसँग परिचित गराउँदै भविष्यको रोजगार बजारका लागि सक्षम जनशक्ति तयार पार्न यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

समारोहलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख प्रा. बिरञ्जी गौतमले उच्च शिक्षाको उद्देश्य केवल शैक्षिक उपाधि प्रदान गर्नु मात्र नभई विद्यार्थीलाई जीवन र पेशाका लागि सक्षम बनाउनु रहेको बताउनुभयो । उहाँले शिक्षा, अनुसन्धान, स्वास्थ्य सेवा तथा व्यावसायिक अवसरलाई एकैसाथ जोड्ने यस्ता सहकार्यहरूले विद्यार्थीको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै क्याम्पसले विभिन्न राष्ट्रिय तथा अन्तराष्टिय व्यवसायिक कम्पनी, विश्वविद्यालय, तथा सेवा प्रदायक संस्थाहरुसँग सहकार्य गर्दै आएको बताउनुभयो । त्यसैगरी युनाइटेड रेफरेन्स ल्याबोरेटरीका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले कालिका बहुमुखी क्याम्पससँगको सहकार्यलाई शिक्षा र स्वास्थ्य क्षेत्रबीचको दीर्घकालीन साझेदारीको सुरुआतका रूपमा व्याख्या गर्दै विद्यार्थीहरूको क्षमता विकास, अनुसन्धान तथा रोजगार सिर्जनामा संस्थाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्झौता कार्यक्रममा सहायक क्याम्पस प्रमुखहरू, विभागीय प्रमुखहरू, प्रशासनिक अधिकारीहरू, प्राध्यापकहरू तथा दुवै संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य, अनुसन्धान र रोजगारका अवसरलाई एकै ठाउँमा जोड्ने यस्तो पहलले विद्यार्थी, अभिभावक, शैक्षिक संस्था तथा समग्र समाजलाई दीर्घकालीन रूपमा लाभ पुर्याउिने विश्वास व्यक्त गरेका थिए ।

दुई वर्षका लागि प्रारम्भिक रूपमा लागू हुने उक्त सम्झौता आवश्यकताअनुसार नवीकरण तथा विस्तार गर्न सकिने व्यवस्था रहेको छ । शिक्षा, स्वास्थ्य सेवा, अनुसन्धान, व्यावसायिक प्रशिक्षण तथा रोजगारका अवसरलाई एकीकृत गर्ने उद्देश्यसहित सम्पन्न भएको यो सहकार्य गण्डकी प्रदेश मात्र नभई नेपालको उच्च शिक्षा क्षेत्रमा नै एक उदाहरणीय मोडेल बन्न सक्ने अपेक्षा गरिएको छ । यसले विद्यार्थीहरूको शैक्षिक उन्नयन, स्वास्थ्य सुरक्षा, अनुसन्धान क्षमता विकास तथा करियर निर्माणमा महत्वपूर्ण योगदान पुर्या उने विश्वास गरिएको छ ।

Comments
Loading...