हिमाली आवाज ।गण्डकी प्रदेश सभा सचिवालयले उत्कृष्ट कार्यसम्पादन गर्दै संस्थाको गरिमा वृद्धि गर्न योगदान पु¥याएका कर्मचारीलाई आज सम्मान तथा पुरस्कार प्रदान गरेको छ । कर्मचारीमा इमानदारिता, अनुशासन, कर्तव्यनिष्ठा र जिम्मेवारीबोधलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा उत्कृष्ट तथा प्रोत्साहन पुरस्कार वितरण गरिएको हो।
कार्यक्रममा कम्प्युटर अधिकृत चन्द्रकला बस्नेत उत्कृष्ट कर्मचारी घोषित हुँदै रु. ३० हजार नगद पुरस्कार प्राप्त गर्नुभयो। त्यसैगरी कार्यालय सहयोगी सूर्यबहादुर केसी र हलुका सवारी चालक लेखबहादुर गुरुङलाई प्रोत्साहन पुरस्कारस्वरूप जनही रु. १० हजार नगद प्रदान गरिएको थियो। पुरस्कारसँगै उहाँहरूलाई टिका, माला तथा कदरपत्रद्वारा सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि सभामुख कृष्णप्रसाद धितालले सार्वजनिक सेवामा कार्यरत कर्मचारीको इमानदारिता, समर्पण र जिम्मेवारीपूर्ण कार्यशैली नै संस्थागत सफलताको आधार भएको बताउनुभयो। उहाँले उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई सम्मान गर्ने संस्कृतिले अन्य कर्मचारीलाई समेत प्रेरित गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
गण्डकी प्रदेश सभा सचिव गोविन्द पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभामुख बिनाकुमारी थापा विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
सचिव गोविन्द पौडेलले सचिवालयभित्र सकारात्मक कार्यसंस्कृति विकास गर्न र कर्मचारीको मनोबल उच्च राख्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले जिम्मेवारीप्रति प्रतिबद्ध कर्मचारीलाई उचित मूल्याङ्कन र सम्मान गरिनु आवश्यक रहेको धारणा राख्नुभयो।
उपसचिव आमोद दाहालले सञ्चालन गर्नुभएको कार्यक्रमको व्यवस्थापन अधिकृत झनकराज अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमको तस्बिर तथा अभिलेखीकरणमा गीता दवाडीले सहयोग गर्नुभएको थियो।
गण्डकी प्रदेश सभा सचिवालयले आगामी दिनमा पनि उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै संस्थाभित्र प्रतिस्पर्धी, उत्तरदायी र परिणाममुखी कार्यसंस्कृति विकासमा जोड दिने जनाएको छ।
