हिमाली आवाज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ मा हुने सङ्घ र प्रदेशको चुनाव एमालेले जित्नैपर्ने बताउनुभएको छ । मङ्गलबारदेखी पोखरामा सुरु भएको नेपाल लोकतान्त्रिक तमु सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकङ्क्षा पूरा गर्न एमालेले चुनाव जित्नुपर्ने धारणा राख्नुभयो ।
“एमालेका लागि होइन, देशका र जनताका लागि, विकासका र समृद्धिका लागि, सामाजिक न्यायका लागि एमालेले चुनाव जित्नैपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो, “हामी जो जहाँ छौँ, त्यहीँबाट उठौँ, यो देश अब बनाउनैपर्छ, देश बनाउने अठोट र गन्तव्य एमालेसँग मात्र छ ।” आसन्न चुनाव नियमित आउनेजाने चुनावको सिलसिला मात्र नभएको उहाँको भनाइ थियो ।

“लोकतन्त्रलाई सही गन्तव्यमा डोराउन, संविधान कार्यान्वयन गर्न, सुशासन कायम गर्न र भ्रष्टचार अन्त्य गर्न सही नेतृत्व चुन्ने अवसर यो चुनावले दिएको छ”, उहाँले भन्नुभयो, “बहुदलीय परिपाटीमा हुने नियमित प्रकृयाको चुनाव जस्तो होइन यो, त्यसकारण यो चुनाव हामीले जित्नैपर्छ ।”
जनताले आत्मविश्वास गुमाउँदा देश अफ्टेरोमा पर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस्तो स्थिति आउन दिन नहुने बताउनुभयो । उहाँले विकास र समृद्धिको राष्ट्रिय सङ्कल्प हाँसिल गर्न सबै पक्षलाई एकताबद्ध हुन आग्रह गर्नुभयो । सोही समारोहमा विभिन्न दल त्यागेर एमाले प्रवेश गरेका नेता, कार्यकर्तालाई बिनाभेदभाव उचित जिम्मेदवारी दिइने उहाँले बताउनुभयो ।