विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहने व्यवस्था हटाउनुपर्दछ :गुरुङ

हिमाली आवाज । गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डाक्टर गणेशमान गुरुङ्गले सामुदायिक शिक्षाको गुणस्तर बृद्धिका लागि विद्यार्थीहरुमा रुपान्तरणको आवश्यकता रहेको बताउनुभएको छ ।

त्रिवेणी इन्टरनेशनल कलेज पोखरा—२७ को सातौ बार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै, कुलपति गुरुङ्गले विद्यार्थी संगठनले शिक्षाको विकासमा भन्दा राजनितिक दलको एजेण्डा बोक्दा गुणस्तर खस्कदै गएको उल्लेख गर्नुभयो ।

गुरुङ्गले सरकारले संचालन गरेका प्रमुख विश्वविद्यालय र मातहतका क्याम्पसहरुलाई राजनीतिक अभिष्ट पूरा गर्ने थलोका रुपमा दलहरुले प्रयोग गरी पढाई भन्दा लामोसमय बन्द हड्तालमा उत्रदा शैक्षिक तालिका प्रभावित भएको उल्लेख गर्नुभयो ।

कुलपति गुरुङ्गले मुलुकका प्राय सवै प्रधानमन्त्री र दोश्रोपुस्ताका नेताहरुलाई भेटेर विद्यार्थी संगठनलाई शैक्षिक रुपान्तरणमा प्रयोग गर्न आफुले सुझाव दिए पनि कार्यन्वयन नभएको जिकिर गर्नुभयो ।उहाँले भन्नुभयो,“जवसम्म विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपतिका रुपमा रहने र बालुवाटार वा सिंहदरवारमा सिनेट बोलाउने परम्परा रहँन्छ तवसम्म विश्वविद्यालय राजनितिक छायाँ भन्दा टाढा रहदैन” ।

आफुले राष्ट्रपतिलाई भेट्दा समेत विश्वविद्यालयको कुलपति राष्ट्रप्रमुख वा अहिले उपकुलपति भनेर नियुक्त गरिने व्यक्तिलाई नै कुलपति दिईनु पर्ने सुझाव सरकारलाई दिन आग्रह गरेको बताउनुभयो । विकास निर्माण, मन्त्रालय, विभागलाई निर्देशन र अनुगमन वा प्रत्यक्ष संलग्न हुनुपर्ने प्रधानमन्त्री विश्वविद्यालयको कुलपति भन्दा समस्या सिर्जना भएको समेत गुरुङ्गको भनाई छ ।

पोखरा विश्वविद्यायका पूर्व कार्यवहाक उपकुलपति प्राध्यापक डाक्टर इन्द्रप्रसाद तिवारीले राज्यले नीजि क्षेत्रले शिक्षामा गरेको लगानीको सुनिश्चितता गर्न नसकेको बताउँदै प्राध्यापक तिवारीले राज्यले आफ्ना विश्वविद्यालय र कलेजलाई प्रतिस्पर्धात्मक पनि नवनाउने र नीजि क्षेत्रले हासिल गरेको उत्कृष्ट नतिजालाई सम्मान पनि गर्न नसकेको बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुराम गिरीले अध्यापनका परम्परागत पद्दतीलाई परिवर्तन गरी प्रविधि र बजारको माग अनुसारको जनशक्ति उत्पादन हुने विषय छनौट गर्नुपर्नेमा जोड दिनुभयो ।

उच्च शिक्षालय तथा माध्यामिक बिद्यालय संघ नेपाल हिसान कास्कीका अध्यक्ष यम बहादुर रोकाले शिक्षा क्षेत्रमा राज्यले गर्न नसकेको लगानी र सेवा नीजि क्षेत्रले गरिरहेको उल्लेख गर्दै, राज्यले उल्टै कर लिएर हतोत्साही बनाएको उल्लेख गर्नुभयो ।

त्रिवेणी इन्टरनेशनल कलेजका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा भएको साधारण सभामा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, शेयर सदस्य राजेन्द्रमणि लामिछाने, अमरसिद्ध नमूना मा.विका प्रधानाध्यापक विष्णुप्रसाद पौडेल, कलेजका प्रमुख यदुराज आचार्य, सहायक प्रमुख डिल्लीराम पौडेल, विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष श्रृष्टी तिवारी, भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष रामकृष्ण लामिछाने, शेयर सदस्य बलराम ढकाल लगायतले कलेजले पछिल्लो समय लेखनाथ क्षेत्रमा पुर्याएको शैक्षिक योगदानका विषयमा चर्चा गर्नुभयो ।

सोही कार्यक्रममा कलेजका अध्यक्ष सुमन भट्टराईले आफ्नो तर्फबाट चार जना, लक्ष्मी हाउस पोखराको तर्फबाट पाँच जना, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयको तर्फबाट एक जना पावर जिमको तर्फबाट एक जना र संबृद्धि सहकारीका तर्फबाट एक जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई विविएसको अध्ययनको व्यवस्था मिलाईएको जानकारी दिनुभयो ।

५४ जना विद्यार्थीबाट लेखनाथमा नीजि क्षेत्रबाट स्नातक तहको अध्यापन शुरु गराएको कलेज अहिले आफ्नै सुविधा सम्पन्न भवन सहित व्यवस्थापन विषयमा स्नाकोत्तर समेत गरेर पाँच सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन ।

Comments
Loading...