हिमाली आवाज । नेकपा एमाले संगठन विभाग प्रमुख तथा कास्की १ (क) बाट प्रदेश सभा सदस्य उम्मेदवार खगराज अधिकारीले सबै कम्युनिष्ट, देशभक्त र राष्ट्रवादी शक्तिलाई एमालेमा गोलबन्द गर्ने योजना रहेको बताउनुभएको छ ।
आज पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध र सुदृढ गर्ने अभियानमा लागेको जानकारी समेत दिनुभयो ।क्षणिक तथा केही समयको लागि सशस्त्र संघर्षको कार्यनीति सान्दर्भिक हुन सकेपनि मुल कार्यदिशा शान्तिपूर्ण संघर्ष नै भएको नेता अधिकारीले उल्लेख गर्नुभयो । ‘काग्रेसका नेता शेरबहादुर देउवाको सरकारको पालामा दीर्घकालिन सशस्त्र संघर्षको सुरुवात भएको थियो । सशस्त्र संघर्षले कम्युनिस्टहरुमा तिव्र धु्रवीकरण ग¥यो,’उहाँले भन्नुभयो,‘शेरबहादुर देउवालाई नेता मान्न सशस्त्र संघर्ष गरेको होइन । अहिले गठबन्धनका नाममा त्यहि भएको छ ।’

पार्टीका गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले एमालेको भविष्य राम्रो भएकोले प्रवेशको लहर चलेको जानकारी दिनुभयो । उहाँले पार्टी प्रवेश अभियान मंसिर ४ सम्म चल्ने बताउनभुयो ।
कार्यक्रममा माओवादी केन्द्रका प्रदेशका सदस्य राजु शर्मा तिमिल्सिना, पूर्व जिल्ला कमिटी सदस्य चुणामणी विक र भूपालबहादुर थापा, पोखरा १८ का उपाध्यक्ष नारायण तिमिल्सिना लगायत १२ जना एमाले प्रवेश गर्नुभएको छ । उहाँहरुलाई एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी, प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, पोलिटव्युरो सदस्य सीता गिरी ओली, केन्द्रीय सदस्य कृष्ण थापालगायतका नेताहरूले स्वागत गर्नुभयो ।
कार्यक्रममा हिमालय क्लब पोखरा १६ का अध्यक्ष मोहन थापा र सोही क्लबका संस्थापक अध्यक्ष तीर्थ तामाङ समेत एमाले प्रवेश गर्नुभयो ।