उम्मेदवार बरालको आग्रह:अधूरा योजना पूरा गर्न मत दिनोस्

हिमाली आवाज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रामजी प्रसाद बराल (जीवन)ले विकास निर्माणका योजना जसले शुरु गरेको हो उसैले सम्पन्न गरे मात्रै दीगो विकास हुने बताउनुभएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ३ का मतदाताहरुसँगको भेटघाटका क्रममा उहाँले निर्माण सम्पन्न हुन बाँकी रहेका योजना पूरा गर्न पनि गठबन्धनले जित्नुपर्ने बताउनुभयो ।

पोखराको नदीपुरमा रहेको ढललाई व्यवस्थापन गर्न नसक्दा हरेक वर्ष वर्षामा यहाँको क्षेत्र भासिने चर्कने समस्या भएको हुनाले यसलाई विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘वर्षा लागेपछि यहाँका जनतामा त्रास उत्पन्न हुन्छ, कतिबेला भासिन्छ भनेर, कतिबेला चर्किन्छ भनेर, यो समस्याको दीगो समाधान हुनु जरुरी छ ।’ उहाँले भन्नुभयो,‘अब गठबन्धन सरकारले यसको दीर्घकालीन समाधान गर्छ ।’बरालले आफूले सुरूवात गरेका केही योजनाहरु पूरा गर्नका लागि पनि आफ्नो प्रतिनिधि सभामा उम्मेदवारी दिएको बताउनुभयो ।

स्थानीय बासिन्दा उमेश पराजुलीले बरालले नदिपुरको भुगोल चिनेको केही कामको सुरूवात गरेको आधारमा उम्मेदवार बराललाई मतदान गर्ने बताउनुभयो । अबको समय विकासको समय भएकोले झुट्टा आश्वासन बाँड्नेलाई विश्वास नगर्न आम मतदातासँग पराजुलीले आग्रह गर्नुभयो।

संविधान सभा सदस्य शारदा पौडेलले संविधान रक्षाको लागि गठबन्धनको जित आवश्यक भएको बताउनुभयो । अबको समय स्थायी शान्ति कायम गरेर सम्बृद्धिको मार्गमा लाग्ने समय भएको बताउँदै पौडेलले देशमा अस्थिरता निम्त्याउनेहरुले फेरी जित्न नहुने तर्क गर्नुभयो ।
काँग्रेस नेता नारायण उदासले लामो संघर्षपछि आएको लोकतन्त्र मासिने खतरा बढेकोले गठबन्धन गर्नुपरेको बताउँदै शान्ति र सम्बृद्धिका लागि सबै पक्ष एक हुनुपर्ने बताउनुभयो ।

निर्वाचन प्रचार प्रसार समितिका सहसंयोजक विष्णु खत्रीले अझै पनि प्रतिगमनले जित्ने हो भने नेपाली जनता सधैं व्यवस्था जोगाउने संघर्षमा समय खर्चिनुपर्ने भएकोले अहिलेनै विचार पुर्याउनुपर्ने बताउनुभयो ।

Comments
Loading...