विमान दुर्घटनाको एक महिनापछि हेमजाका सापकोटा दम्पतीको अन्त्येष्टि

हिमाली आवाज । पोखरामा गत माघ १ गते भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका पोखरा—२५ हेमजाका एक दम्पतीको एक महिनापछि आज मात्र अन्त्येष्टि गरिएको छ ।

दुर्घटनामा ज्यान गुमाएका हेमजा हनुमानचोक निवासी राजन सापकोटा र उहाँका श्रीमति आनिषा बानियाँ सापकोटाको हेमजा सेती नदी मराङघाटमा अन्तिम संस्कार गरिएको हो ।

अनिषाको शव पहिचान गर्न समस्या भएपछि अन्तिम संस्कार गर्न ढिलाई भएको हो । राजनको शव माघ ८ गते काठमाडौंमा पोष्टमार्टमबाट पहिचान भएपनि अनिषाको पहिचान गर्न डिएनए गरिएको थियो ।

डिएनएको रिपोर्ट हिजो प्राप्त भएपछि काठमाडौँबाट राति शव ल्याएर विहान शवयात्रा सहित अन्तिम संस्कार गरिएको मृतकका काका प्रकाशचन्द्र सापकोटाले जानकारी दिनुभयो । उहाँहरुको आजदेखीनै काजकिरिया सुरु भएको र दाजु किरिया बस्नुभएको बताइन्छ ।

डिभि परेर अमेरिका बस्दै आउनुभएका राजन गत वर्ष विवाह गरेर फर्किनुभएको थियो । विवाहको पहिलो वार्षिकोत्सव मनाउन उहाँ पुस ३० गते नेपाल आउनुभएको थियो । उहाँलाई लिन श्रीमती अनिषा काठमाडौं जानुभएको थियो ।

पोखरा फर्किने क्रममा उहाँहरु चढेको विमान अवतरणका क्रममा विमानस्थल नजिक सेतीखोँचमा दुर्घटनामा परेको हो । यती एयरलाइन्सको सो विमान दुर्घटनामा परी ७२ जनाले ज्यान गुमाएका थिए ।

Comments
Loading...