पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भोलीदेखी बुद्ध एयरको चार ठाउँबाट रात्रिकालीन उडान

हिमाली आवाज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भोलीदेखी नियमित रुपमा रात्रिकालीन उडान सुरु हुने भएको छ ।
विमानस्थलमा उपकरणका आधारमा विमान उडान÷ अवतरण प्रविधि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू भएपछि पहिलोपटक बुद्ध एयरले नियमित तालिकामा रात्रिकालीन उडान सुरु गर्न लागेको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गत फागुन ११ गतेदेखी आइएफआर प्रणाली लागू भएको हो । हाल विमानस्थलबाट विहान ६ः०० बजेदेखी साँझ ४ः०० बजेसम्म मात्र जहाज उडान र अवतरण हुँदै आएकामा अब आवश्यकताका आधारमा रातिको १२ः०० बजेसम्म उडान गर्न सकिने बताइन्छ ।

बिहीबार साँझ पोखराका लागि काठमाडौँ, भैरहवा, नेपालगञ्ज र झापाको भद्रपुरबाट बुद्धका चारवटा जहाज रात्रिकालीन उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताउनुभयो ।उहाँका अनुसार हालसम्म बुद्ध बाहेकका अन्य कम्पनीले भने रात्रिकालीन उडानको तालिका पेश गरेका छैनन् ।

उहाँले भन्नुभयो,“पोखरा विमानस्थल रात्रिकालीन हवाई उडानका लागि योग्य भएपछि भोलीदेखी बुद्धले रातको समयमा समेत औपचारिक उडान सुरु गर्दैछ । बुद्धका चार विमानले देशका विभिन्न भागबाट पोखराका लागि उडान गर्नेछन् ।”यसअघि गत फागुन १८ गते सौर्य एयरलाइन्स राति पोखरा विमानस्थलमा अवतरण भएपनि सो उडान नियमित तालिका अनुसार थिएन । मौसमको खराबीका कारण तालिका ढिलाई भएकाले राति अवतरण गरेको थियो ।

बुद्धका प्रवक्ता दीपेन्द्र कर्णले राति आठ बजेसम्म सेवा दिने गरी रात्रिकालीन उडानको तालिका बनाइएको बताउनुभयो । बुद्धका चार वटा जहाज राती पोखरामानै रात्रि विसान गर्नेछन् ।

कर्णका अनुसार विहीबार काठमाडौंबाट पोखराका लागि बेलुकी ७ः३५ बजे, भद्रपुर—पोखरा साझ ६ः५५ बजे, भैरहवादेखी पोखरा साँझ७ः२५ बजे र नेपालगञ्जबाट पोखराका लागि साँझ ७ः२० बजे उडान हुनेछ ।

Comments
Loading...