शितल ज्योति कप फुटबल : सेमिफाइनल पुग्ने चार टोलीको टुँगो लाग्यो

हिमाली आवाज । पोखरामा जारी तेस्रो संस्करणको ‘शितलज्योति कप सेभेन ए साइड फुटबल’ प्रतियोगिता अन्तर्गत सेमिफाइनल पुग्ने चार टोलीको टुँगो लागेको छ ।

पोखराको अमरसिँह चौरमा सञ्चालन भएको प्रतियोगितामा बिहीबार सम्पन्न क्वाटरफाइनलको खेलबाट सेमिफाइनल पुग्ने चार टोलीको टुँगो लागेको प्रतियोगिताका रेफ्री सौरव गुरुङले जानकारी दिए ।

बिहीबारको पहिलो क्वाटरफाइनल खेलमा तारा एफसीले मनिश थापामगरको डबल ह्याट्रिकको मद्धतमा शितलज्योती ‘बी’लाई ७—० गोलको फराकिलो अन्तरले पराजित गरी सेमिफाइनल पुग्न सफल भएको छ । मनिशले पहिलो हाफमा तीन र दोस्रो हाफमा तीन गोल गरे । अर्को एक गोल विनम गुरुङको नाममा रह्यो ।

त्यसैगरी दोस्रो क्वाटरफाइनलको खेलमा कमलपोखरी बीलाई ३—० ले निरास पार्दै रत्न सेवा समाजले सेमिफाइनलमा स्थान पक्का गरेको छ । रत्नले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल थप्यो । जोन तामाङले पहिलो हाफको पाँचौ र नकुल तामाङले आठौँ मिनेटमा गोल गरेकामा दोस्रो हाफमा विश्वास पौडेलले अर्को गोल थपे।

तेस्रो खेलमा भद्रकाली एफसीले मिलन टोल एफसीलाई १—० ले निरास पारेको छ । भद्रकालीका प्रविन गुरुङले खेलको ३४ औँ मिनेटमा गरेको एकमात्र गोल टोलीलाई अन्तिम चारमा पु¥याउन निर्णायक बन्यो ।

यसैगरी अन्तिम क्वाटरफाइनलको खेलमा एलजी एकता विजयी हुँदै अन्तिम चारमा पुग्न सफल भयो । एलजीले दीप युनाइटेडलाई ३—० ले निरास पार्यो ।एलजीका प्रशान्त गुरुङले पहिलो हाफको नवौँ मिनेटमा गोल गरी अग्रता बनाएकामा २८ औँ मिनेटमा अर्को गोल गरी अग्रता दोब्बर बनाए । रमन श्रेष्ठले ३३ औँ मिनेटमा अर्को गोल थपे ।

शुक्रबार सेमिफाइनलको पहिलो खेल तारा एफसी र एलजी एकता तथा दोस्रो खेल भद्रकाली एफसी र रत्न सेवा समाजकाबीच हुने रेफ्री सौरव गुरुङले जानकारी दिए ।

यही फाुगन २० गतेदेखी सञ्चालन भएको प्रतियोगिताको बिजेताले रु १ लाख ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । यसैगरी उपविजेताले ८५ हजार ५ सय ५५ रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक सन्तोष गुरुङले जानकारी दिए ।

यसैगरी प्रतियोगितामा सेमिफाइनलमा प्रबेश गर्ने टिमले १० हजार पुरस्कार पाउनेछन् भने उत्कृष्ट खेलाडीलाई माउण्टेन वाइक पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजारको साथमा ट्रफी पुरस्कार पाउनेछन् ।

Comments
Loading...