कोरला नाका र ‘डिजिटल मार्केटिङ’ प्रर्वद्धनमा टेवान

हिमाली आवाज । फापरको पिठोको झिलिंगा, खुर्पानीको सुकुटी, स्याउ र खुर्पानीको अग्र्यानिक जुस । मुस्ताङका यी उत्पादन जिल्लामै खपत हुन्छन् । यी उत्पादनलाई जिल्ला बाहिर प्रर्वद्धन गर्न मुस्ताङका महिला उद्यमीले चासो दिएका छन् । बजारीकरणका लागि पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले सहयोग गरेको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको चार दिवसीय कार्यक्रम अन्तर्गत टेवानले मुस्ताङका महिला उद्यमीलाई ‘डिजिटल मार्केटिङ’ सम्बन्धी तालिम प्रदान ग¥यो । फागुन २४ मा पहिलो दिन म्याग्दीको बेनी नारी दिवसका अवसरमा आयोजित अन्तरक्रियामा सहभागी भएर टेवानले फागुन २५ मा मुस्ताङको जोमसोममा तालिम आयोजना गरेको हो । तालिममा आँखीझ्याल टेक्नोलोजिजका इन्जिनियर उज्ज्वल पौडेलले अनलाइन, इमेल, इन्टरनेट, सामाजिक सञ्जालका माध्यमबाट पर्यटन प्रवद्र्धन र उत्पादनको बजारीकरणको उपायबारे जानकारी दिए । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र घरपझोङ गाउँपालिकाको सहयोगमा टेवानले तालिम प्रदान गरेको हो ।

उक्त दिन तालिमसँगै मुस्ताङ र पोखराका पर्यटन व्यवसायीबीच अन्तरक्रिया भयो । कार्यक्रममा पोखरा र मुस्ताङ बीचको पर्यटकीय साझेदारी आवश्यक रहेकोमा जोड दिइएको थियो । मुस्ताङका लागि पर्यटकको मुख्य प्रस्थानविन्दु पोखरा रहेको भन्दै कार्यक्रमका वक्ताले पर्यटकीय रुपमा पोखराबाट मुस्ताङ र मुस्ताङबाट पोखरा एकआपसमा लाभान्वित हुँदै आएको बताउनुभयो ।

जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङले साझेदारीका माध्यमबाट दुबै स्थानका पर्यटकीय गतिविधि बढाउनुपर्नेमा जोड दिनुभयो । ‘मुस्ताङका स्थानीयवासी अतिथि देवो भवःको मन्त्रलाई सदैब आत्मसात गर्दै आएका छन्,’ उहाँले भन्नुभयो,‘प्राकृतिक, धार्मिक एवम् सांस्कृतिक रुपमा मुस्ताङ महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो ।’

पर्यटकीय विकाससँगै मुस्ताङका स्थानीयवासी उत्पादनसँग पनि जोडिने अभियान सुरु गरिएको बताउँदै उनले यहाँ उत्पादित अन्न, स्याउ लगायतका फलफुल आदिको प्रशोधन गर्ने काय पनि सुरु गरिएको उल्लेख गर्नुभयो । घरपझोङ गाउँपालिकाका प्रमुख मोहनसिंह लालचनले यस क्षेत्रको पर्यटकीय प्रवद्र्धनका लागि पोखराको सहयोग आवश्यक रहेको बताउनुभयो । प्राकृतिक सौन्दर्यतासँगै धार्मिक एवम् सांस्कृतिक रुपमा यहाँको महत्त्व रहेको बताउँदै उहाँले पर्यटन लक्षित योजनालाई अघि बढाउन लागिएको जानकारी दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले मुस्ताङ धार्मिक पर्यटनको विशिष्ट गन्तव्य रहेको उल्लेख गर्नुभयो । बौद्ध धर्मगुरु पद्मसम्भवले यहीँबाट बौद्ध धर्मको प्रचारप्रसार गरी त्यसले विश्वव्यापी स्थान लिए पनि त्यसको प्रचारप्रसार हुन नसकेको उहाँको भनाइ थियो । यार्तुङ, तिजी, तोरन्ल जस्ता विभिन्न सांस्कृतिक मेला तथा महोत्सवलाई अन्तर्राष्ट्रियकरण गरी पाहूना बोलाउनुपर्ने तर्क उहाँको छ ।‘मुस्ताङको दीगो पर्यटकीय विकासका लागि यहाँका ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक महत्वका सम्पदा जोगाउनु आवश्यक छ,’ उहाँले भन्नुभयो ।

पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आइसकेको अवस्थामा मुस्ताङका उत्पादनलाई विश्व बजारमा पु¥याउने गरी लाग्नुपर्ने बताउनुभयो । टेवानका अध्यक्ष कमला गिरीले पोखरा र मुस्ताङको पर्यटकीय सम्बन्ध बढाउनकै लागि मुस्ताङमा प्रवद्र्धनात्मक कार्यक्रम ल्याइएको जानकारी दिनुभयो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले पर्यटनको विकासका लागि उत्पादन, प्रवद्र्धन र बजारीकरण आवश्यक भएकोमा जोड दिनुभयो । मुस्ताङका मौलिक संस्कार र संस्कृतिको प्रवद्र्धन जरुरी रहेको बताउँदै उहाँले पर्यटकका बसाइँ अवधि लम्ब्याउनका लागि पूर्वाधार विकासलाई पनि जोड दिनुपर्ने धारणा राख्नुभयो ।

घरपझोङ गाउँपालिकाका उपाध्यक्ष जमुना थापा थकालीले पोखरा र मुस्ताङको पर्यटकीय साझोदारीले दुबैलाई अधिकतम फाइदा पुग्ने बताउनुभयो । कार्यक्रम संयोजक शोभा अधिकारी पौडेलले नारी दिवसको कार्यक्रमलाई सार्थक बनाउन डिजिटल मार्केटिङ र कोरला नाका प्रवद्र्धनात्मक कार्यक्रम टेवानले ल्याएको बताउनुभयो ।

पहिलो दिन ठिनीमा रहेको थकाली सामुदायिक होमस्टेमा बसेको टेवानको टोली दोस्रो दिन उपल्लो मुस्ताङको लोमन्थाङ पुगेको थियो । पर्यटन व्यवासायी र संचारकर्मीको टोली तेस्रो दिन कोरला नाका, छोसेरस्थित ऐतिहासिक शिजा झोङ गुफा घुमेर मुक्तिनाथ फर्किएको थियो । त्यस दिन जोमसोम बास बसेर चौंथो दिन म्याग्दीको धार्मिकस्थल गलेश्वर हुँदै टेवानको टोली शनिबार पोखरा फर्कियो ।

Comments
Loading...