काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता २५ जनाभन्दा बढी सहभागी नहुने लगायत १० बुँदे निर्देशन जारी गरेको छ ।

आगामी वैशाख १० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नं २, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नंं १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रमा यही चैत १८ गते सञ्चालनमा आएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भोलि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरी निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थकसहित बढीमा २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने, बाजा, गाजा, झाँकी तथा निर्वाचन आचारसंहिता, २०७९ विपरीतका ब्यानर, चिह्न र झण्डासहित जान नहुने, उम्मेदवारको पहिचान झल्किने लोगो, टिका, चिह्न, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न नहुने निर्देशन दिइएको जानकारी दिनुभयो ।