नयाँवर्षमा फेवाताल किनारमा तीन दिन महोत्सव

हिमाली आवाज ।  होटल संघ पोखरा नेपालको आयोजनामा पोखराको लेकसाइडमा यही चैत २९ गतेबाट सुरु हुने तीन दिने १८ औं फेवा नब वर्ष महोत्सको तयारी अन्तिम चरणमा पुगेको छ ।

नयाँ वर्षको अवसरमा पोखराको लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लन चोकसम्मको सडकमा यो महोत्सव हुन लागेको हो । उद्घाटनका दिन खहरे चोकबाट सांस्कृतिक झाँकी र ¥याली सुरु भई अम्मटमा पुगेर उद्घाटन सभामा परिणत हुने संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । लाइभ संगीत, ख्याती प्राप्त कलाकारको गायन प्रस्तुती, सांस्कृतिक झाँकी र खानाका परिकार महोत्सवमा रहने उहाँले बताउनुभयो । महोत्सवलाई लक्षित गरी प्रकाशित दररेटमा २० प्रतिशत छुट संघ अन्तर्गतका होटलहरुले प्रदान गर्ने संघले जनाएको छ । याक ब्रुअरीको बाह्रसिंगे वियर महोत्सवको मुख्य प्रायोजक रहेको छ ।

थला परेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्दै आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्धेश्यका साथ पर्यटन, संस्कृति र खानालाई जोड दिएर महोत्सव हुन लागेको हो । नेपाली नयाँ वर्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचारप्रसार गरी हर्ष, उल्लासका साथ मनाउँदै गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले संचालन हुने महोत्सवले गण्डकी प्रदेशको जातीय भेषभुषा, रहनसहन, खानपान, साँस्कृतिक पक्षहरुको उजागर र प्राकृतिक सम्पदाहरुको प्रर्वद्धन गर्ने विश्वास संघले लिएको छ ।

पछिल्लो क्रममा पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना र पृथ्वीराजमार्गको अव्यवस्थित तथा सुस्त गतिको स्तरोन्नतीले यस क्षेत्रको पर्यटन आगमनदरमा प्रत्यक्ष मार परेको अध्यक्ष सुवेदीले बताउनुभयो । बाटो स्तरोन्नती हुनु राम्रो भए पनि काम सुस्त गतिमा हुँदा असर परेको उहाँले सुनाउनुभयो । सडक मार्ग हुँदै मोटरसाइकलमा मुक्तिनाथ पुग्ने पर्यटकको संख्या पनि घट्न पुगेको उहाँको भनाई छ ।

बैंक तथा वित्तीय संस्थाका तर्फबाट एकतर्फी रुपमा बढाइएको ब्याजदरका कारण होटल क्षेत्र अहिले उकुसमुुकुसको अवस्थाबाट गुज्रनु परेको संघले जनाएको छ ।

अहिलेको पर्यटकीय सिजनको ८० देखि ९० प्रतिशत वरपर अकुपेन्सी हुनुपर्ने त्यस्तो अकुपेन्सी २० देखि २५ प्रतिशत मात्र भएको सुवेदीले अध्यक्ष सुवेदीले बताउनुभयो ।  होटल टिक्न पनि ५० प्रतिशत अकुपेन्सी चाहिने बताइन्छ ।

संघका महासचिव एवं महोत्सवका प्रचार संयोजक राजेन्द्र ढकालले कार्यक्रमको संचालन गर्नुभयो ।  सो अवसरमा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, महोत्सवका सहसंयोजकद्वय दीपक श्रेष्ठ र गणेशराज पहारीको पनि उपस्थिति थियो ।

Comments
Loading...