पोखरेली व्यवसायीको प्रधानमन्त्रीसँग आग्रह:पोखराबाट अन्तर्राष्ट्रिय उडान थालिदिनुस्

हिमाली आवाज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनवरी १ मा भव्य रुपमा उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे पोखराका व्यवसायीले ध्यानाकर्षण गराएका छन् । आन्तरिक उडानमात्र हुने अन्तर्राष्ट्रिय विमानस्थल हुन पुगेको भन्दै व्यवसायीले सोमबार प्रधानमन्त्रीलाई भेटेर तत्काल कुटनीतिक पहल थाल्न आग्रह गरेका हुन् ।

पोखरा पर्यटन परिषदको नेतृत्वमा पोखराका व्यवसायीहरुले अहिलेको वित्तीय संकटबाट बचाउन, पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्न, पृथ्वीराजमार्ग निर्माण छिटो र व्यवस्थित बनाइदिन गुहार माग्दै मन्त्रीदेखि प्रधानमन्त्रीसम्म पुगेका छन् ।

पोखरेली व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री डा. प्रकाशशरण महत र पर्यटनमन्त्री सुदन किरातीलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् भने अहिलेको संकटबाट मोचन गराउन नीतिगत पहल थाल्न पनि माग गरेका छन् ।

व्यवसायीले प्रधानमन्त्रीलाई भेटेर कर्जा तिर्ने समयसीमा बढाउँदै पुनर्तालिकीकरण र पुनर्कर्जा पाउने व्यवस्था गर्न व्यवसायीले आग्रह गरे । बैंक व्याजदर एक अंकमा झार्नुपर्ने र बर्जा तिर्ने समय सीमा बढाइदिनुपर्ने उनीहरुको माग थियो । बैंक तथा वित्तीय संस्थाले पर्यटनमा अनिवार्य लगानी गर्नुपर्ने साविककै नीतिलाई ब्युँत्याउन पनि व्यवसायीले प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठको नेतृत्वमा मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई ज्ञापनपत्र बुझाउँदै चैतमसान्तसम्म किस्ता र ब्याज तिर्न नसक्ने बताउनुभयो । जवाफमा प्रधानमन्त्री दाहालले व्याजदर एक अंकमा झार्न कसरत गरिरहेको बताउनुभयो । अहिले ब्याजदर र किस्ताको विषय गम्भीर समस्या बनेकाले सुधारमा निम्ति निरन्तर बैठक बसिरहेको दाहालले बताउनुभयो । । ऋण लिएपछि तिर्दिन भन्न नपाइने तर त्यसका लागि सरकारले सहज वातावरण भने बनाइदिने प्रधानमन्त्रीको भनाई छ ।

अर्थमन्त्री डा. प्रकाशशरण र पर्यटनमन्त्री सुदन किरातीले अहिले सरकार वित्तीय संकटप्रति गम्भीर रहेको र चाँडै केही न केही निर्णय आउने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले त ब्यवसायीले तिर्ने कर्जाको पुनर्तालिकीकरण छिट्टै गर्ने पनि प्रतिवद्धता जनाउनुभयो ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका निम्ति भारत र चीन भ्रमणको प्रमुख एजेण्डा नै रहेको प्रचण्डले बताउनुभयो । प्रचण्डले भू–उपयोग नीति अनुसार जग्गा वर्गीकरण नगरी पुरानै स्थितिमा कित्ताकाट खुला गर्ने तयारी भइरहेको बताउनुभयो ।

पर्यटन मन्त्री सुदन किरातीले आफू अहिले व्यवसायीले खेपेको मारप्रति चिन्तित र जानकार रहेको बताउनुभयो । अर्थमन्त्रीसँग अहिलेको संकटका विषयमा आजमात्रै पनि छलफल भएको किरातीको भनाइ थियो ।नेपाल एयरलाइन्स पूर्ण व्यावसाायिक बनाई आन्तरिक र अन्तराष्ट्रिय उडानहरु सञ्चालन गर्न अवश्यक जहाजहरू खरिद गर्न व्यवसायीले प्रधानमन्त्रीसँग आग्रह गरे ।

कम्तिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि नेपाल एयरलाइन्सको जहाज उडानको व्यवस्थासहित हवाइ सञ्जाल बिस्तार गर्न व्यवसायीले ध्यानाकर्षण गराएका छन् ।

नेपाल पर्यटन बोर्डको प्रशासनिक एवं व्यवस्थापकीय सुधार गरी पर्यटकीय संघ सस्थाका संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्न माग गरे । स्थलमार्ग हुँदै नेपाल भित्रिने पर्यटकहरुलाई सहज र मुख्य सहरसम्मको यात्रा सुविधाका लागि राजमार्गहरुको सुधार गर्नुपर्ने र पृथ्वी राजमार्गको पुनर्निर्माणलाई छिटो तथा व्यवस्थित बनाई दिन पनि प्रधानमन्त्री दाहालसँग आग्रह गरे ।

नेपाल पर्यटन बोर्डको वजेट नितान्त पर्यटन प्रवद्र्धनका लागि मात्रै विनियोजन र खर्च गर्न व्यवसायीले माग गरेका छन् । मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीलाई टिम्स र गाइड व्यवस्था अनिवार्य नगर्न प्रधानमन्त्रीलाई अनुृरोध गरे । पदयात्रामा मात्रै गाइड र सहयोगी अनिवार्य गर्न र मोटर गाडी जाने ठाउँमा यो नियम व्यवहारिक नहुने व्यवसायीको भनाइ थियो ।

साहासिक पर्यटनको मुख्य गन्तव्य पोखराको प्याराग्लाइडिङलाई अन्तर्राष्ट्रिय उडान असर नगर्ने गरी पूर्ववत स्थापित गर्नुपर्ने पनि व्यवसायीले बताए ।पोखराको रत्न मन्दिर, हिमा गृहजस्ता सम्पदा मन्त्री फेरिएपिच्चे खुला गर्ने भनेर चर्चा कमाउने तर नखोल्ने गरिएकोमा ध्यानाकर्षण गराउँदै अब सधैं खुला गर्ने व्यवस्था मिलाउन व्यवसायीले प्रधानमन्त्री र मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

Comments
Loading...