पोखरा विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै

हिमाली आवाज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भोली पहिलो अन्तर्राष्ट्रिय उडान हुन लागेको छ ।

विमानस्थल सञ्चालनमा आएको छ महिनापछि अन्तर्राष्ट्रिय उडान तथा अवतरण हुन लागेको हो । विमानस्थलको अङ्ग्रेजी नयाँवर्षको पहिलो दिन गत पुस १७ गते भव्य उद्घाटन गरिएको थियो ।

चीनको सिचुआन एयरलाइन्सलको १५८ सिट क्षमताको एयरबस–३१९ जहाजले पहिलोपटक छेङदु—पोखरा चार्टर उडान भर्न लागेको हो ।
विमानस्थलमा विहान ९ः३० बजे सिचुआन एयरको विमान अवतरण हुने तालिका रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो अन्तर्राष्ट्रिय उडानमा आउने विमानका यात्रु तथा चालकदलका सदस्यहरुलाई स्वागत गरिने छ ।प्रमुख गौतमले भन्नुभयो,“पोखरा विमानस्थलमा भोली पहिलो पटक सिचुआन एयरलाइन्सको विमान अवतरण हुँदैछ,विमानस्थल बाहिर पर्यटन बोर्डको आयोजनामा यात्रुको स्वागत कार्यक्रम हुनेछ ।”

पोखरा विमानस्थलमा अवतरण गर्ने सो चार्टर विमानले यही असार ८ र ९ गते हुने लेकसाइडमा हुने नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने पाहुना तथा खेलाडीलाई लिएर आउन लागेको हो ।

चार्टर जहाजमा खेलाडी तथा चीनको लिङजी नगरबाट नगर उपप्रमुख सहित ६० जना विशिष्ट पाहुनाको टोली पनि पोखरा आउनुहुनेछ ।
नेपाल र मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले नेपाल पर्यटन बोर्ड, चिनिया दूतावास र पोखरा महानगरले फेस्टिभल आयोजना गरेका हुन् ।

Comments
Loading...