स्व अमृता पाण्डेको स्मृतिमा समावेशी टोलमा वृक्षरोपण

हिमाली आवाज । दुई दशकअघि सवारी दुर्घटनामा निधन हुनुभएकी भेषकुमारी पाण्डे (अमृता) को स्मृतिमा आज पोखरामा वृक्षरोपण गरिएको छ ।
पोखरा महानगरपालिका—१४ समावेशी टोल प्रवेशमार्ग रिभर साइडमा पाण्डेको स्मरण गर्दै विभिन्न जातका फलफूलका विरुवाहरु रोपिएको हो ।

स्याङ्जाको स्वरेक निवासी स्व पाण्डेको विस २०६१ असार १८ गते बुटवलमा सवारी दुर्घटनामा परी २० वर्षको अल्पायुमै निधन भएको थियो ।
उहाँको स्मृतिमा परिवारजनले वर्षेनी विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

वृक्षरोपण कार्यक्रममा पोखरा महानगरपालिका—१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले पाण्डेको स्मृतिमा परिवाजनले गरेको सामाजिक कार्यको प्रशंसा गर्नुभयो । सो अवसरमा उहाँले परिवारले स्थापना गरेको अक्षयकोषमा आफ्नोतर्फबाट रु पाँच हजार जम्मा गर्ने घोषणा गर्नुभयो ।

स्व अमृतका दाजु एवं पोखराका क्रियाशील पत्रकार घनश्याम पाण्डेले बहिनीको दुःखद् निधनले परिवारजनलाई सँधै पीडा दिएको बताउनुभयो । वहिनीको जन्म जयन्ती र स्मृति दिवसमा वर्षेनी विभिन्न कार्यक्रम गर्दै आएको पाण्डेले बताउनुभयो ।

वृक्षरोपण र स्मृतिसभामा शुक्ला गण्डकी नगरपालिका —१२का वडाध्यक्ष इन्द्र गुरुङ, समावेशी टोल विकास संस्थाका अध्यक्ष राजु गिरी, राजनीतिक कार्यकर्ता शोभाखर अधिकारी सञ्चारकर्मी तथा टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो ।

Comments
Loading...