कास्कीमा निर्माणाधीन सेती जलविद्युत आयोजना उर्जा सचिव घिमिरे नेतृत्वको टोलीद्धारा निरीक्षण

हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत आयोजनाको उर्जा,जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे नेतृत्वको टोलीले निरीक्षण गरेको छ ।

सचिव नेतृत्वको टोलीले आज माछापुच्छ«े गाउँपालिका—२ मा निर्माणाधीन २५ मेगावाट क्षमताको आयोजनाको स्थलगत अवलोकन गर्दै हालसम्मको कार्यप्रगतिका बारेमा जानकारी लिएको हो ।

आयोजनामा सरकारी कम्पनी हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी(एचआइडिसिएल)को संस्थागत (इक्वेटी) लगानी रहेको छ । एचआइडिसिएलको अध्यक्ष उर्जा तथा जलस्रोत मन्त्रालयको सचिव रहने व्यवस्था छ ।

सचिव नेतृत्वको टोलीमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका सञ्चालकहरु शम्भुप्रसाद मरासिनी,माधव प्रसाद कोइराला,जीतेन्द्र धिताल,सुधिर ज्ञवाली, एचआइडिसियलका प्रमुख कार्यकारी अधिकृत अर्जुन कुमार गौतम,डेपुटी सिइओ अरुण रजौरिया र जीवनकुमार बस्नेत सहभागी हुनुहुन्थ्यो ।

टोलीले आयोजनाको हालसम्मको भौतिक प्रगतिको अवस्था, हेडवर्क, विद्युत गृह तथा पाइपलाइन विस्तारका बारेमा जानकारी लिएको थियो ।
टोलीलाई आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी उर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले आयोजनाका बारेमा जानकारी गराउनुभएको थियो ।

उर्जा सचिव घिमिरेले आयोजनाको स्थलगत अवलोकनपछि आफूहरुले सही ठाउँमा लगानी गरेछौँ भनेर ढुक्क भएर फर्किेने अवस्था रहेको बताउनुभयो ।

आयोजना सम्पन्न हुने चरणमा पुगेको उहाँले खुशी व्यक्त गर्नुभयो । देशको उर्जा क्षेत्रको विकासमा निजी उर्जा उत्पादकहरुको ठूलो भूमिका रहेको भन्दै सचिव घिमिरेले अझ ठूला परियोजनामा लगानी बढाउन उहाँले आह्वान गर्नुभयो ।

सचिव घिमिरेले भन्नुभयो,“कम्पनीको अध्यक्ष भएर कामप्रतिको लगाव र मोटिभेसनका लागि जगत जीको म प्रशंसा गर्न चाहन्छु । सबैतिर प्रोएक्टिभ भूमिका सहित ठूलो टिमलाई परिचालन गर्दै हतोस्साहित नभई प्रोजेक्ट अघि बढाएकोमा हामी खुशी छौँ ।”

भिजन लुम्बिनीका कार्यकारी अध्यक्ष जगत बहादुर पोखरेलले आयोजना सम्पन्न हुने चरणमा पुगेको बताउनुभयो । आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन (प्रसारण लाइन) निर्माणतर्फका सबै काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो ।

कम्पनीका अनुसार ढिलोमा पनि आगामी मंसिरभित्र आयोजना सम्पन्न भएर व्यावसायिकरुपमा विद्युत उत्पादन हुनेछ। स्थानीयवासी, स्थानीय सरकार र प्रशासनको सहयोगबाट नै आयोजना तोकिएको समयमा सम्पन्न हुन लागेको अध्यक्ष पोखरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो,“जलविद्युतमा २५ मेगावाट सानो परियोजना होइन। धेरै मानिस जोडिनुभएको छ। एक हजार पाँच सय जना प्रवर्द्धकको लगानी छ, सुरुआती लागत बढेको छैन। पारदर्शी रूपमा समयमै आयोजना पूरा गर्न अहोरात्र खटिएका छौँ, छिट्टै सफलता मिल्नेमा आशावादी छौँ ।”
सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ ।

Comments
Loading...