हिमाली आवाज । पोखराका अग्रज पर्यटन व्यवसायी वसन्तराज दवाडीको निधन भएको छ । गएराति उहाँको हृदयघातका कारण ५७ वर्षको उमरेमा निधन भएको हो ।
उहाँलाई राति एक्कासि हृदयघात भएपछि पोखराको मेडिप्लस अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
स्व दवाडीको सोमबारनै जन्मस्थान माछापुच्छ«े गाउँपालिका–३ घाचोकस्थित सेतीनदीको रातोपानी घाटमा अन्त्येष्टि गरिएको छ ।
स्व दवाडीको शवयात्रामा पर्यटन व्यवसायी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, स्थानीय तथा शुभचिन्तकहरुको सहभागिता थियो । सफल पर्यटन व्यवसायी र समाजसेवीको रुपमा स्थापित दवाडीको अकल्पनीय निधनले गाउँ शोकमा डुबेको माछापुच्छ«े–३ का संस्थापक वडाध्यक्ष समेत रहनुभएका स्थानीय सूर्यप्रसाद लम्सालले बताउनुभयो ।
“बसन्तले पोखरा र माछापुच्छ्रेको पर्यटन विकासमा ठूलो योगदान गरेका छन् । उनी समाजसेवी थिए, सबैको हित चाहने असल व्यक्तिको असामयिक निधनले अपूरणीय क्षति भएको छ । ” लम्सालले भन्नुभयो । दवाडीले आफ्नो आमाको स्मृतिमा प्रतिष्ठान स्थापना गरी सामाजिक काम गर्दै आउनुभएको थियो ।
पोखराको साहसिक पर्यटनको विकास होस् वा गाउँमा महिला दिदीबहिनीको आयआर्जन तथा बालबालिकाहरुको शिक्षाका लागि समेत दवाडीको महत्वपूर्ण योगदान रहेको छ ।
उहाँकै पहलमा सुविधासम्पन्न माछापुच्छ्रेमा ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा ल्याइएको छ । दवाडी टान गण्डकीका पूर्व अध्यक्ष तथा नेपाल प्याराग्लाइडिङ संघ तथा ह्याण्डग्लाइडिङ संघ (नेफा) गण्डकी प्रदेश अध्यक्ष हुनुहुन्थ्यो । यसबाहेक उहाँ सिर्जना साहित्य सदन लगायतका विभिन्न संघसंस्थामा रही सेवा गर्नुभएको छ ।
नेपालको पर्यटन तथा नेपाली सहासिक खेलकुद विकासको अग्रणी व्यक्तित्वको रुपमा पहिचान बनाउनुभएका दवाडी पोखरा पर्यटन परिषद तथा ना का पूर्व उपाध्यक्ष समेत हुनुहुन्छ ।
नेपालका लागि स्वीट्जरल्याण्डको अवैतनिक राजदूत रहेर कार्य गरेका उहाँले आफ्नो गाउँ घाचोकमा आमा स्मृति प्रतिष्ठान खोल्नुभएको छ । जहाँ हाल ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र संचालित छ ।
महिला दिदीबहिनीहरुलाई स्वरोजगार बनाउन सिप सिकाउनेदेखि लिएर गरीब तथा विपन्न वर्गका छात्राहरुलाई निःशुल्क शिक्षाको समेत प्रबन्ध मिलाएका थिए । माछापुच्छ्रे गाउँपालिकामा समेत प्याराग्लाइडिङ केन्द्रको रुपमा स्थापित गर्न अघिल्लो वर्ष उनकै सक्रियतामा प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको थियो। स्व दवाडीका बुबा, श्रीमती, एक छोरा र एक छोरी, दुई भाई तथा दुई दिदीबहिनी छन् ।


