पोखरामा कालोपत्रे सडक एक महिनामै उप्कियो : लापरवाही भएको भए कारवाही गर्न भौतिकमन्त्री जुग्जालीद्धारा निर्देशन

हिमाली आवाज । पोखरा महानगरपालिका—९ मा कालोपत्रे गरिएको सडक एक महिना नहुँदै उप्किएपछि गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीले चासो दिनुभएको छ ।

पूर्वाधार विकास कार्यालय कास्की मार्फत गत आर्थिक वर्षमा रु १० लाख बजेटबाट निर्माण गरिएको पोखरा महानगरपालिका ९ पृथ्वीचोकको भित्र ट्राफिक कार्यालय हुदै नयाँ बजार जाने सडक कालोपत्रे गरिएको केही हप्तामै उप्पिकएको समाचार प्रकाशित भएको थियो ।

सो सम्बन्धमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि आज मन्त्री जुग्जालीले सो विषयमा चासो दिनुभएको हो । भौतिकमन्त्रीले पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख डा महेन्द्र बानियालाई मन्त्रालयमा बोलाएर सडकको बारेमा बास्तविकता बुझेर जानकारी गराउन आग्रह गर्नुभएको हो ।

मन्त्री जुग्जालीले सडक निर्माणमा लापरवाही र गलत काम भएको भए तुरुन्त निर्माणमा संलग्न पक्षलाई कारवाही र भत्किएको सडक मर्मत गर्न निर्देशन दिनुभएको मन्त्री जुग्जालीको सचिवालयले जनाएको छ ।

पूर्वाधार विकास कार्यालय कास्कीका इन्जिनियर एवं सूचना अधिकराी अनुप थापाले सडक निर्माणका क्रममा कमजोरी गरेको भेटिएमा कारवाही गरिने बताउनुभयो । यस सम्बन्धमा उपभोक्ता समिति र निर्माण व्यवसायीलाई राखेर कुरा गरिने जानकारी दिनुभयो ।

Comments
Loading...