भिजन लुम्बिनीले भदौ १९ देखी प्रभावित माछापुच्छ्रेका स्थानीयका लागि आइपिओ जारी गर्दै

हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कम्पनीको प्राथमिक सेयर(आइपिओ) जारी गर्ने भएको छ ।

सेती नदी जलविद्युत आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी उर्जा कम्पनी प्रालिले यही भदौ १९ गतेदेखी आइपिओ जारी गर्नका लागि सार्वजनिक सूचना निकालेको हो ।

आयोजनाको प्रभावित क्षेत्रका रुपमा रहेका माछापुच्छ्रे गाउँपालिकाको वडा नं. १, २, ३, ४ र पोखरा महानगरपालिका वडा नं १९ का स्थानीय बासिन्दाहरुले कम्पनीको आइपिओमा आवेदन दिन सक्नेछन् ।

भिजन लुम्बिनीले आफ्नो जारी पूँजी रु एक अर्ब ९१ करोड २५ लाखको १० प्रतिशत अर्थात रु १९ करोड १२ लाख ५० हजार बराबरको १९ लाख १२ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गर्न लागिएको कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशतले एक लाख ९१ हजार २५० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरिने छ ।

कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा तीन लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतम १९ हजार १२० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा छिटोमा असोज २ गते र ढिलोमा असोज १७ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने असोज २ गतेभित्र आवेदन दिनु पर्ने बताइएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

आयोजना स्थल, मुक्तिनाथ विकास बैंक र नेपाल फाइनान्सका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आरुबा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछन। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

भिजन लुम्बिनीका कार्यकारी अध्यक्ष पोखरेलले आयोजना सम्पन्न हुने अन्तिम चरणमा पुगेको बताउनुभयो । आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन (प्रसारण लाइन) निर्माणतर्फका सबै काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो ।

कम्पनीका अनुसार ढिलोमा पनि आगामी मङ्सिरभित्र आयोजना सम्पन्न भएर व्यावसायिकरुपमा विद्युत उत्पादन हुनेछ । स्थानीयवासी, स्थानीय सरकार र प्रशासनको सहयोगबाट नै आयोजना तोकिएको समयमा सम्पन्न हुन लागेको अध्यक्ष पोखरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो,“जलविद्युतमा २५ मेगावाट सानो परियोजना होइन। धेरै मानिस जोडिनुभएको छ। एक हजार पाँच सय जना प्रवर्द्धकको लगानी छ, सुरुआती लागत बढेको छैन। पारदर्शी रूपमा समयमै आयोजना पूरा गर्न अहोरात्र खटिएका छौँ, छिट्टै सफलता मिल्नेमा आशावादी छौँ ।”
माछापुच्छ«को सार्दिखोला भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगर स्थित पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ ।

पाइपमार्फत लगिएको पानी पावर हाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा खसालिने छ। सो आयोजना नदी जलप्रवाहमा आधारित छ ।

सेती जलविद्युत् आयोजनामा रु पाँच अर्ब लगानी रहेको छ। यसमा रु तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवद्र्धक, स्थानीयवासी तथा आइपियो जारी गरेर पूरा गर्न लागिएको आयोजना प्रमुख इन्जिीनियर लेखनाथ पाण्डेले जानकारी दिनुभयो ।

Comments
Loading...