पोखरामा असोज अन्तिम साता राष्ट्रिय फुटसल,विजेतालाई पाँच लाख पुरस्कार

हिमाली आवाज । पर्यटकीय सहर पोखरामा असोज अन्तिम साता राष्ट्रियस्तरको खुला फुटसल प्रतियोगिता हुने भएको छ ।

‘राजन एण्ड ब्रदर्श’ले असोज २७ देखी ३० गतेसम्म दोस्रो संस्करणको प्रतियोगिता आयोजना गरेको हो । पोखरा रङ्गशालाको बहुउद्धेश्सीय कभर्डहलमा खेल हुनेछन् । सो प्रतियोगिताबाट देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका फुटसल खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

प्रतियोगिता बारेमा जानकारी दिन आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक राजन गुरुङले विजेतालाई रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने बताउनुभयो ।

उहाँका अनुसार यो प्रतियोगिता देशकै सर्वाधिक राशीको फुटसल प्रतियोगिता हो । त्यसैगरी उपविजेताले रु तीन लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु ५० हजार सहित ट्रफी पाउनेछन् । उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई जनही रु २५ हजार सहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता संयोजक गुरुङले गत वर्षको पहिलो संस्करणको आयोजनाबाट राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुगेकाले यस वर्षपनि निरन्तरता दिइएको बताउनुभयो ।

गत वर्षको प्रतियोगिता खेलका चार खेलाडीले हाल फुटसलको राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । “स्थानीयस्तरमा आफ्नो खेलकौशल प्रदर्शन गर्दै आएका पोखरेली खेलाडीले राष्ट्रिय टोलीमा स्थान पाउनु हाम्रा लागि धेरै खुशीको कुरा हो । ” गुरुङले भन्नुभयो,“प्रतियोगिता प्रतिभावान् तथा उदीयमान खेलाडीहरुलाई प्रेरणाको स्रोत हुने विश्वास लिएका छौँ । ”

प्रतियोगितामा ३० टोलीको सहभागिता रहने छ । हङकङ र सिक्किमबाट पनि एक÷एक टोलीलाई सहभागिता गराउने आयोजकको तयारी छ ।राष्ट्रिय फुटसल लिग च्याम्पियन स्पोर्टस् क्यासल पोखराले प्रतियोगितालाई सहयोग गरेको छ । ‘राजन एण्ड दी ब्रदर्श’ले पोखरामा सामाजिक तथा खेलकुदको क्षेत्रमा काम गर्दै आएको छ ।

Comments
Loading...