पोखराको वडा नं १६ र १९ का नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा

हिमाली आवाज । पोखरा महानगरपालिकाका दुई वडाले संयुक्त रुपमा बिरामीहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् ।

पोखरा महानगरपालिका—१६ र १९ ले वडावासीहरुका लागि एम्बुलेन्स सेवा प्रदान गर्न एम्बुलेन्स सेवा प्रदायक संस्था नव आदर्श सामुदायिक विकास समाज तथा मातृशिशु मितेरी अस्पतालसँग सम्झौता गरेका छन् ।

महानगरपालिकाका प्रमुख धनराज आचार्यको उपस्थितिमा पोखरा—१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र वडा नं १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सेवा प्रदान गर्ने सम्बन्धमा समाजका अध्यक्ष स्वागतसिंह भण्डारी र मितेरी अस्पतालका स्वास्थ्यसेवा प्रमुख धर्मदेव ढकालसँग एम्बुलेन्स सेवा प्रदान गर्ने सम्बन्धमा हस्ताक्षर गर्नुभएको हो ।स्थानीयवासीका लागि प्रयोग गरिएको एम्बुलेन्सको भाडा वडा कार्यालयबाट भुक्तानी हुने गरी सहमति गरिएको छ ।

दुवै वडाका नागरिकले यी दुई संस्थाबाट सञ्चालित एम्बुलेन्स तथा शव बाहनबाट कास्की जिल्ला भित्र प्रयोग हुने गरी चौबिसै घण्टा सेवा लिन सक्ने वडा नं १६ का वडाध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

उहाँका अनुसार एम्बुलेन्स प्रयोगकर्ताले परिचयका लागि आफ्नो परिचय खुल्ने कुनै पनि प्रकारको परिचय पत्र उपलब्ध गराउनु पर्नेछ ।
“नागरिकको सहजताका लागि दुवै वडाको पहलमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका हौँ । यसबाट विपन्न तथा ग्रामीण क्षेत्रका नागरिकहरुलाई अझ बढी सहयोग पुग्ने विश्वास लिएका छौँ । ” वडाध्यक्ष तिमिल्सिनाले भन्नुभयो । पोखरा यी दुई वडा बजारको उत्तरी क्षेत्रमा तथा विशेषगरी ग्रामीण भुगोलमा पर्दछन् ।

नव आदर्श समाजको फोन नं ०६१–४४४१००, ९८५६०१५२०६,९८५६०१६२०६ तथा मातृशिशु अस्पतालको ०६१–४४३१४४ मा फोन गरेर एम्बुलेन्स सेवा लिन सकिने जनाइएको छ ।

यस अघि पनि १६ नम्वर वडा कार्यालयले वडा भित्रका स्वास्थ्य संस्थामा सुत्केरी सेवा लिने महिलाहरुका लागि निशुल्क एम्बुलेन्स सेवाको साथमा आमा पोषणका लागि रु एक हजार बराबरको सहयोग प्रदान गर्दै आइरहेको छ । सो कार्यक्रमलाई बर्ष पनि निरन्तर रहेको बताइन्छ ।

Comments
Loading...