कास्कीकोटको कालिका माविलाई महानगरले दियो स्कुल बस

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं.२४ कास्कीकोट स्थित श्री कालिका माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विद्यालयलाई बस हस्तान्तरण गर्नुभएको हो ।

सामुदायिक विद्यालयहरूको सबलीकरण सहित सुविधायुक्त बनाउने र शिक्षण सिकाइ क्रियाकलापहरूलाई उपलब्धिमूलक बनाउन यस प्रकारका गतिविधिहरू प्रभावकारी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारका लागि महानगरले १७ बुँदे निर्देशन सहित सबै विद्यालयका प्रध्यानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको उहाँले स्मरण गराउनुभयो । सुविधा वृद्धि गरिएको र विद्यार्थीहरूको दैनिक खाजा खर्चमा थप गरिएको उहाँले बताउनुभयो ।

विद्यालयमा सुरु भएको बस सेवाले विद्यार्थीहरूको आकर्षण बढाउने विश्वास गरिएको वडा अध्यक्ष भरत बहादुर अधिकारीले बताउनुभयो । महानगरको शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले महानगरको समग्र शैक्षिक अवस्था सुधारोन्मुख रहेको बताउनुभयो । शिक्षालाई प्रतिस्पर्धी बनाउन अझ धेरै प्रयत्न गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

विद्यालय कास्की जिल्लामा उत्कृष्ट तेस्रोमा परेको जनाइएको छ । एसइई नतिजामा विद्यालय कास्की जिल्ला मै तेस्रो भएको हो । विद्यालयमा बस सेवा सुरु भएपछि विद्यार्थीहरू खुसी भएका छन् । महानगरपालिका र विद्यालयको लागत साझेदारीमा बस खरिद गरिएको हो ।महानगरका १५ विद्यालयहरूमा यसरी नै साझेदारी बस हस्तान्तरण गरिएको शिक्षा महाशाखाले जनाएको छ

Comments
Loading...