दमौली,२० कात्तिक । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको डुम्रे–छिर्कने खण्डमा कालोपत्र थालिएको छ ।
मुग्लिन पोखरा सडकलाई चार लेनमा विस्तार गर्ने योजनाअनुरुप बन्दीपुर गाउँपालिका–१ डुम्रेको नालादेखि छिर्कनेसम्म सडक कालोपत्रको काम सुरु भएको हो । तिहारअघि नै सक्ने गरी डुम्रेको नाला पुलबाट छिर्कनेतर्फको तीन किलोमिटर सडक कालोपत्र सुरु भएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । तिहारपछि भने नालापुलबाटै छिर्कनेसम्मको करिब छ किलोमिटर खण्ड कालोपत्र हुनेछ ।

उहाँले भन्नुभयो,“यस खण्डमा ‘अस्फाल्ट प्रविधि’मा कालोपत्र सुरु गरिएको छ । सडक आवागमनलाई सहज बनाउन अहिले एकतर्फी मात्रै काम भइरहेको छ ।”
यसअघि आयोजनाले आँबुखैरेनी खण्डमा कालोपत्र गरेको थियो । आँबुखैरेनी गाउँपालिका–१ बरादीमा डेढ किलोमिटर सडक कालोपत्र भइसकेको जनाइएको छ । पृथ्वी राजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा धमाधम काम भइरहेको छ ।