पोखरामा आइटिएफ टेनिस प्रतियोगिता सुरु

हिमाली आवाज । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा अन्तर्राष्ट्रिय टेनिस महासङ्घ(आइटिएफ) जे—३० टेनिस प्रतियोगिता सुरु भएको छ ।

पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा सुरु प्रतियोगिता दुई सातासम्म सञ्चालन हुनेछ । प्रतियोगिताको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिँखडाले उद्घाटन गर्नुभयो ।

टेनिस कोर्टमा शनिबार र आइतबार छनोट चरणका खेल सञ्चालनपछि आजदेखी प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा पुरुषतर्फ ‘क्वालिफाइङ’ र ‘मेन ड्र’ गरी विभिन्न देशका ६४ खेलाडीको सहभागिता रहेको छ ।

महिलातर्फ ४७ खेलाडीको सहभागिता रहेको कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष लोकबहादुर गुरुङले जानकारी दिनुभयो ।उहाँका अनुसार प्रतियोगितामा पुरुषतर्फ नेपाल सहित आठ देशका खेलाडी सहभागी छन् । नेपालबाट १०, भारतबाट ४४, जापानका चार, अमेरिकाका दुई तथा रसिया, क्यानडा , चीन र श्रीलङ्काबाट एक÷एक जना जना खेलाडीले भाग लिएका छन् ।

यसैगरी महिलातर्फ नेपालबाट सात, भारतबाट ३०, जापान, थाइल्याण्ड, अमेरिका,नर्वे, काजकिस्तान लगायतका देशबाट खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा खेलाडीहरुले अङ्कका लागि प्रतिस्पर्धा गर्नेछन् । खेलाडीले प्राप्त गरेको अङ्कले उनीहरुको वरियता निर्धारण गर्नेछ । विजेता खेलाडीले ३० अङ्क, उपविजेताले १८, सेमिफाइनलिष्टले नौ ,क्वाटरफाइनलिष्टले पाँच र अन्तिम १६ मा पुगनेले आइटिएफकोे दुई अङ्क पाउनेछन् ।

प्रतियोगिताको उद्घाटन समारोहमा नेपालका नं १ टेनिस खेलाडी प्रदीप खड्का र नेहाल जङ्ग थापालाई सम्मान गरिएको थियो । खड्का र थापाले हालै काठमाडौमा सम्पन्न गणेशमान सिंह राष्ट्रिय टेनिसका डवल्सतर्फका स्वर्ण पदक विजेता हुनुहुन्छ । खड्काले एकलतर्फ समेत उपाधि जित्नुभएको थियो ।
कार्यक्रममा मन्त्री सिँखडाले प्रतियोगिता पोखराको खेल पर्यटन प्रवद्र्धनमा सहयोगी हुने बताउनुभयो । उहाँले टेनिस खेल विकासका लागि पूर्वाधार निर्माण र खेलाडीको सुविधाका लागि सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

मन्त्री सिँखडाले भन्नुभयो,“प्रदेश सरकार खेलकुद विकासका लागि योजनावद्ध अघि बढेको छ । खेल क्षेत्रलाई व्यवसायिक बनाउँदै अघि बढ्नु आवश्यक छ । खेल क्षेत्रका विसंगतिहरु हटाउन सबैको सहयोग र साथ आवश्यक हुन्छ ।”

Comments
Loading...