गण्डकी प्रदेशका बाँझो पाखाहरुमा अब गाँजाखेती : मुख्यमन्त्री पाण्डे

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाँदर आतंकले बाँझो रहेका गाउँका पाखाहरुमा गाँजा खेती गर्नुपर्ने बताउनुभएको छ ।उहाँले गण्डकी प्रदेश सरकार गाँजा खेती र घरेलु मदिरा उत्पादनलाई वैधानिकता दिने तयारीमा रहेको पनि बताउनुभयो ।

पोखराको नयाँबजारमा ३२ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेलाको आज उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले भन्नुभयो,“अहिले गाउँहरु पूरा रित्तो छन् । बारीहरु बाँझो छन् । दिनदिनै गाउँका साथीहरु आउनुहुन्छ, गाउँका मान्छेको एउटै आवाज छ, बाँदर धपाइदे । बाँदर रोक्दे । बाँदर रोक्ने उपाय छैन ।कम्तिमा बाँदरले गाँजा खाँदैन हेर्नुहोस् । मैले बुझेको यत्ति हो । त्यसैले बाँझो बारीमा गाँजा उत्पादन हुनसक्छ । त्यहाँ गाँजा रोप्ने हो । त्यसबाट औषधिजन्य उद्योग खोल्ने हो ।”प्रदेश सरकारको अवको अधिवेशनमा गाँजा खेती र घरेलु मदिरालाई वैधानिकता दिने दुई विधेयक दर्ता गरिने उहाँले जानकारी दिनुभयो ।

“दुईवटा कुरा मैले नीति तथा कार्यक्रममा पनि भनेको छु, आज पनि भन्छु । एउटा घरेलु मदिरालाई ब्राण्डिङ गर्ने र अर्को गाजा खेतीलाई वैधानिकता दिने । गाँजा लागुपदार्थमात्र हैन । यहाँ दुईजना डीआइजी र सिडिओ साब पनि हुनुहुन्छ । म फेरि दोहो¥याएर भन्छु, गाँजा लागुपदार्थमात्र हैन, यो औषधिजन्य पदार्थ हो । यसको डाँठबाट औद्योगिक उत्पादन पनि हुँदो रहेछ हामीलाई चिन्ता छ कि, यसको दुरुपयोग नहोस् । एउटा मस्यौदा बनेको छ । घरेलु मदिरालाई कानूनी मान्यता दिने र गाँजालाई कानूनी मान्यता दिँदै औषधिजन्य र औद्योगिक उत्पादनमा प्रयोग गर्ने ।” मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।

मुख्यमन्त्री पाण्डेले संघीयताले परिकल्पना गरे अनुसारका कानून निर्माणमा ढिलाइ भएको बताउँदै अव संघको मुख नताक्ने र आवश्यक कानून बनाउने उद्घोष पनि गर्नुभयो । उहाँले भन्नुभयो,‘संघीयता त आएको छ तर कानूनहरु संघीयताले अपेक्षा गरेअनुरुप बनाउन सकिएको छैन । तर हामीले एउटा संकल्प गरेका छौँ , संघको कानून पर्खेर बस्ने हो भने हाम्रो पर्फमेन्स र लक्ष्य प्राप्ति हुँदैन । अव संघ सरकारले कानून बनाएन भने पनि हामी बनाउँछौं । त्यसलाई अक्षरशः पालना गर्छ । बाझिएछ भने त्यो बेला जे गर्नुपर्छ गरौँला । ’

गण्डकीका पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले युवा पलायन देशको प्रमुख समस्या भएको बताउँदै रोजगारी सिर्जनाले मात्र पलायन रोक्न सकिने बताउनुभयो । उहाँले रोजगारी सिर्जनाको लागि प्रदेश सरकारले वन ऐन ल्याएको र अव प्रदेशले जडिबुटी र काष्ठ उद्योगलाई प्रोत्साहन गरी रोजगारी सिर्जना गर्ने बताउनुभयो ।

गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद विन्दुकुमार थापाले फेवाताल वरपरका जग्गाधनीहरुलाई उचित मुआब्जाको ग्यारेण्टी गर्दै फेवाताल संरक्षणको योजना अगाडि बढाउनुपर्ने बताउनुभयो ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीको धन्यवाद ज्ञापन तथा महासचिव बलराम आचार्यको संचालन रहेको कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल,कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीलगायतले मन्तव्य राख्नुभयो । मेलाको समुद्घाटन अगाडि संघको सचिवालय गैह्रापाटनबाट मेलास्थलसम्म प्रभातफेरीको आयोजना गरिएको थियो ।

प्रभातफेरीमा पोखरा महानगरभित्रका १२५ वटाभन्दा बढी आमा समूहको सहभागिता रहेको संयोजक तथा संघकी कार्यसमिति सदस्य प्रभा सुवेदीले जानकारी दिनुभयो । प्रभातफेरीमा विभिन्न बस्तुगत संघ र व्यावसायिक एवं सामाजिक संघ÷संस्थाको पनि सहभागिता थियो । २५० वटाभन्दा बढी व्यावसायिक स्टल रहेको मेलामा शुक्रबारबाट सांस्कृतिक कार्यक्रम पनि आयोजना हुँदैछ ।

Comments
Loading...