हिमाली आवाज । आसन्न प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको गण्डकी प्रदेशस्तरीय एक दिवसीय छनोट प्रतियोगिताको आजको खेलमा स्याङ्जाले बाग्लुङमाथि एक सय ४१ रनको जित दर्ता गरेको छ ।
गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन भएको खेलमा ‘म्यान अफ दी म्याच’ घोषित इश्वर क्षेत्रीले एक सय ४४ रनको योगदान दिएपछि स्याङ्जाले सहज जित निकालेको हो ।
बाग्लुङ भने आफ्नो दोस्रो खेलमा पनि पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ । बिहीबारको उद्घाटन खेलमा बाग्लुङ कास्कीसँग एक सय ५३ रनले पराजित भएको थियो ।
बागलुङ विरुद्ध टस जितेर व्याटिङ सुरुआत गरेको स्याङ्जाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै तीन सय ४४ रनको विशाल योगफल तयार गरेको थियो । जितका लागि तीन सय ४५ रनको विशाल लक्ष्य पछ्टाएको बागलुङले निर्धारित ५० ओभर पूरै खेल्दै आठ विकेटको क्षतिमा दुई सय तीन रन मात्रै बनाउन सक्यो ।

स्याङजाका व्याट्सम्यान अश्विन रानाले ३८ बलमा ४४ रन, सन्दिप खत्री क्षेत्रीले ३२ र करन पगेनीले २८ रनको योगदान दिनुभयो । बागलुङका लागि अर्जुन रायमाझीले १० ओभरमा ३० रन दिएर तीन विकेट हात पार्दा अंकित न्यौपानेले दुई विकेट लिनुभयो ।
बागलुङका लागि अर्जुन रायमाझीले ७०, दीपेश कुँबरले ५४ रनको अर्धशतकिय पारी खेल्नुभयो । स्याङजाका बलर तुलसीराम भण्डारीले तीन र अंकित न्यौपानेले दुई विकेट लिनुभयो ।
प्रतियोगिताको समूह ‘ए’मा रहेका कास्की र स्याङ्जाको समान दुई÷दुई अङ्क भएको छ । बाग्लुङ भने कुनै पनि अङ्क नजोडिकन बाहिरिएको छ । प्रतियोगिता अन्तर्गत शनिबार हुने कास्की र स्याङ्जाबीचको खेलले समूह विजेताको टुङ्गो लगाउने छ ।
समूह बिजेतालाई फाइनल खेल्नेछ । प्रतियोगिता समूह ‘बी’मा तनहुँ,नवलपुर र पर्वत छन् । प्रतियोगिताको फाइनल खेल पुस २५ गते सञ्चालन हुने गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।गण्डकी प्रदेशमा जिल्लास्तरीय छनोट प्रतियोगितापछि प्रादेशिक छनोट सञ्चालन गरिएको सिग्देलले बताउनुभयो ।